नेविसंघ भ्रष्टाचारको रक्षा कवज बन्यो: नेता आचार्य



काठमाडौँ। अनेरास्ववियूका नेता रश्मि आचार्यले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई प्रभावित बनाउन नेविसंघ भ्रष्टाचारको रक्षा कवज बन्न थालेको टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेशबुक मार्फत नेता आचार्यले यस्तो टिप्पणी गरेका हुन्। आगामी फागुन १४ गते हुने भनिएको स्ववियु निर्वाचनका बारेमा अनेकन टिकाटिप्पणी सुरु हुन थालेका छन्।

यसै सन्दर्भलाई नेता आचार्यले नेविसंघ भ्रष्टाचारको रक्षा कवज बनेर सडकमा आउनु र अनेरास्ववियूका केही नेता कार्यकर्ताहरु आन्तरिक कुटाकुटमा उत्रिनुले गलत सन्देश प्रवाह गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘विद्यार्थी संगठन र स्ववियु माथि चौतर्फि आक्रमण भईरहेको वर्तमान सन्दर्भमा नेविसंघ भ्रष्टाचारको रक्षा कवज बनेर सडकमा आउनु र अनेरास्ववियूका केही साथीहरू आन्तरिक कुटाकुटमा उत्रिनुले गलत सन्देश गएको छ। यस्ता गतिविधिले विद्यार्थी आन्दोलन र स्ववियुको सान्दर्भिकता माथि प्रश्न उठाउनेहरूलाई उल्टै बल पुगेको छ। यस्ता कमजोरी तत्काल सच्याऔं।’

रेक्टर नियुक्तिको विषलयलाई लिएर स्ववियु निर्वाचनलाई प्रभावित पार्न खोज्नु नेविसंघको अराजनीतिक चरित्र हुने नेता आचार्यको भनाई छ। उनले अगाडि लेखेका छन्,‘त्रिवि संस्थागत तवरले निर्वाचनमा दृढ हुँदा त्यस भित्रको कुनै संरचनामा एकाध व्यक्ति (रेक्टर) हुनु र नहुनुले स्ववियु निर्वाचनलाई कुनै बाधा पर्दैन। निर्वाचन संस्थाले गराउने हो, व्यक्तिले होईन। त्यो काम निमित्तले सहजै गर्न सक्छन्। यस्तो वाहनावाजी गरेर निर्वाचनबाट भाग्न नखोजौं।’

विश्वविद्यालयमा समयमै स्ववियु निर्वाचन नहुँदा युवा पुस्ताको राजनीतिमा सहभागिता घट्दै गएको नेता आचार्यको निष्कर्श छ। उनले लेखेका छन्, ‘स्ववियु नहुँदा एक दशकसम्म नयाँ पुस्ता माथि ठूलो अन्याय भएको छ। यसर्थ स्ववियुको जगेर्ना गर्न र विद्यार्थी आन्दोलनको शाख जोगाउन सबै ज़िम्मेवार बनौं।’