सुकेधारामा बसको ठक्करबाट छात्राको मृत्यु, दुईवटा बसमा आगजनी



काठमाडौँ। सोमबार बिहान काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो। गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो।

उपचारकै क्रममा उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

मृतक पन्त चाबहिलस्थित पशुपति वहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन्। आफ्नो सहपाठीको मृत्युपछि सो क्याम्पसका विद्यार्थीहरु सडकमा विरोध प्रदर्शन गरिरहेका छन्।

आक्रोसित विद्यार्थीले बा४ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा३ख ४४३३ नम्बरको बस तोडफोड गरेका छन् । प्रहरीले आगजनीमा संलग्न केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।

तस्विरः श्याम सागरको फेसबुकबाट