कोहलपुरमा विद्यार्थीमाथि सय राउन्ड गोली प्रहार



दिपेन्द्र हमाल,

बाँके। स्कूल जाँदै गरेकी बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनेपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न बाँके कोहलपुर प्रहरी करीब सय राउण्ड गोली चलाएको भेटिएको छ ।

भीडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करीब ५० हवाई फायर गरेको हो। ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको बाँके प्रहरीले जानकारी दिएको छ। स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ वर्षीया चन्द बाबुले चलाएको भे६प २७४० नम्बरको स्कुटरमा बसेर स्कुल जाँदै थिइन्।

पछिपछि आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले पौने १० बजे ठक्कर दिएपछि बुवाछोरी दुईतिर उछिट्टिए। बीचसडकतिर लडेकी प्रकृतिलाई ट्रकको पछाडिको चक्काले पेल्यो। बाबु सामान्य घाइते मात्रै भए।

स्कूल नजिकै दुर्घटना भएकाले तत्काल अन्य विद्यार्थीले थाहा पाए। विद्यार्थी र स्थानीय घटनास्थलमा जम्मा भए। प्रकृतिलाई उपचारका लागि कोहलपुर अस्पताल पुर्‍याइयो। घटनास्थलमा भने केहीबेरमै विद्यार्थी र अभिभावकले विरोध सुरू गरेका छन्।

विद्यार्थी र अभिभावकको आक्रोश बढ्दै गर्दा प्रहरीले सजगता अपनाउन सकेन। विद्यार्थीले ठक्कर दिने ट्रकमा आगजनी गरे। प्रहरी थप गम्भीर हुनुपर्ने थियो। तर दमनको बाटो रोज्यो। स्कूलमै गएर दुई विद्यार्थी र एक शिक्षकलाई पक्राउ गर्‍यो। प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास पनि प्रहार गर्न थाल्यो।

भीड झन् आक्रोशित बन्यो, थप तोडफोडमा उत्रियो। प्रहरीले हवाई फायर खोल्यो। संयमता गुमेपछि भीडले स्कूल बससहित १३ सवारीसाधन तोडफोड गरे, प्रहरीले ५० हवाई फायर र करीब ५० रबरका गोली प्रहार गर्‍यो। दुवैतर्फबाट ढुंगा हानाहान भयो। आन्दोलित भीडले इलाका प्रहरी कार्यालय परिसरमा रहेको क्यान्टिनमा समेत आगजनी गर्‍यो।

घटनामा २४ भन्दा बढी विद्यार्थी र सर्वसाधारण घाइते भएका छन्। नारायण खत्रीको अण्डकोषमा तथा महेश आचार्य, श्रीकान्त शर्मा र सिर्जन चन्दको तिघ्रामा रबरको गोली लागेको छ। उनीहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ। कोहलपुर इलाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीसहित २० भन्दा बढी प्रहरी घाइते भएका छन्।

ट्रकले पेलेको बालिका प्रकृति चन्दको दाहिने खुट्टा काम नलाग्ने भएपछि चिकित्सकहरूले काटेर फालेका छन्। कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमै उनको खुट्टा फालिएको हो। देब्रे खुट्टामा पनि गम्भीर चोट लागेको छ।

थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट आईतबार नै काठमाडौंस्थित बी एन्ड बी अस्पताल लगिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताएका छन्।