सिमा विवाद उत्कर्षमा: कालापानी मुद्दालाई ठूलो नबनाउँन भारतको चेतावनी


काठमाडौँ। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी भारतभित्र परेको भन्दै नेपालका राजनीतिक नेता, नागरिक समाज, विद्यार्थी संगठनले विरोध जनाइरहेका छन्। यस विषयका बारेमा लेफ्टिनन्ट जनरल, एवं भारतका महासर्वेक्षक गिरीश कुमारले सिमा अतिक्रमणको विषयलाई ठूलो नबाउन तेचावनि दिएका छन्।

उनले बीबीसीसँगको कुराकानीमा भनेका छन्,‘यसमा भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन। हामीले यो नक्सा केही दशकयता नै चलाइरहेका छौँ। झन्डैझन्डै भारत विभाजनका बेलादेखि नै। नक्साबारे कुरा गर्ने हो भने हामीले यसपटक देशको सीमा परिवर्तन भएको नक्सा सार्वजनिक गरेका होइनौँ।’

तर कालापानी आफ्नो भएको नेपालको भनाइ छ। त्यसमा उत्पन्न विवादलाई समाधान गर्न भनेर परराष्ट्रसचिव स्तरमा द्विपक्षीय संयन्त्र पनि छ। त्यसमा यो कुरा बेवास्ता भएको होइन? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा उनले भने,‘ हेर्नुहोस्, दुवै देशका यस विषयमा फरकफरक धारणा होलान्। यसमा म तपाईँसँग सहमत छु। हामी यसबारे हुने छलफललाई पनि निरन्तरता नै दिनेछौँ। नेपालले हामीले भन्ने गरेको कुरा स्वीकार्नैपर्छ भन्ने छैन। तर हामीले जे कुरा मानिरहेका छौँ त्यो भन्नु हाम्रो अधिकार हो। नेपालले हामीले भन्ने गरेको कुरा स्वीकार्नैपर्छ भन्ने छैन। तर हामीले जे कुरा मानिरहेका छौँ त्यो भन्नु हाम्रो अधिकार हो।’

विवादित भूमि नै मान्ने हो भने पनि दुई देशबीच नक्सा जारी गर्दा छलफल हुनुपर्थ्यो होला नि ? भन्ने बीबीसीको अर्को प्रश्नको उत्तरमा कुमार भन्छन्, ‘विवादित भन्ने कुरा पनि वहाँहरूको भनाइ हो, हाम्रो होइन। तर हामी यसबारे छलफललाई निरन्तरता दिनेछौँ। यो ७० वर्षयतादेखि चलेको सीमा हो।’

अब नेपालले औपचारिक रूपमा वा संयन्त्रमा यसबारे कुरा उठायो भने भारतको भनाइ के हुन्छ ? भन्ने अन्तीम प्रश्नको जवाफमा उनले भने,‘परराष्ट्रसचिव स्तरीय द्विपक्षीय संयन्त्रको अजेन्डा बनाउने मान्छे म होइन। तर पक्कै पनि वहाँहरूले कुरा गरिरहनुभएकै होला। तर हामीले जे देखाइरहेका छौँ त्यही नै हाम्रो स्थान हो। त्यसैले यो केही नभएको कुरालाई मुद्दा नबनाऔँ। बाह्य रूपमा केही नचलाएको यो नक्सामा आन्तरिक रूपमा पनि हामीले केही परिवर्तन गरेको नभई केही मिलाएका मात्र हौँ।’

कालापानीको विवाद के हो ?

नेपाल-तिब्बतबीच प्रमुख व्यापारिक नाकाका रूपमा रहेको लिपुलेकको चर्चा २०७२ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग बेइजिङमा एक समझदारी हुँदा पुन: सुरु भएको थियो।

नेपालसँगको सहमतिबिनै गरिएको उक्त सम्झौताको एउटा बुँदामा भनिएको थियोस्। दुवै पक्ष व्यापारवस्तुको सूची बढाउन वार्ता गर्न र नाथुला, च्याङ्लारलिपुलेक नाका र सिप्किलामा सीमा व्यापार बढाउन पनि राजी भए।

झन्डै ५,५३२ मिटर उचाइमा रहेको लिम्पियाधुरालाई महाकाली नदीको प्रमुख जलाधार र उद्गम विन्दु मानिन्छ। त्यो स्थान लिपुलेकभन्दा अझै उत्तरपश्चिममा पर्छ।

सुगौली सन्धिपछि भएका ब्रिटिश इन्डिया सरकारका नक्साङ्कनहरूमा उक्त कुरा उल्लेख रहेको छ। तर सुगौली सन्धिमा अस्पष्टता रहेको भन्दै त्यहाँको विवाद सुल्झन सकेको छैन। उक्त सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी भनेर तोकिएको छ तर उक्त नदीको मुहानबारे उल्लेख गरिएको छैन।

बीबीसीसँगको एउटा पुरानो अन्तर्वार्तामा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भनेका थिए, सन् १८६० भन्दा अघिका सम्पूर्ण नक्साहरूमा लिम्पियाधुराबाट निस्किएको काली भनेर लेखिएको छ। त्यसपछिका नक्साहरूमा चाहिँ त्यो काली नदीलाई कुटी याङ्ग्दी भन्नेमा बदलेर लिपुलेक भन्ज्याङबाट निस्किएको नदीलाई चाहिँ काली भनेर लेखेको पाइएको छ।

अर्को भारतीय नक्साहरूमा चाहिँ यी दुवैलाई हटाएर टिङ्कर भन्ज्याङनजिकै पङ्खागाड खोला नजिकको कालीको मन्दिरबाट निस्किएको नदीलाई काली भनिएको छ।

अमेरिका र ब्रिटेनका केही पुस्तकालयमा पुराना नक्साहरू रहेका र तिनलाई आधार मानेर अध्ययन हुने हो भने यी विवादलाई नेपालको पक्षमाु सुल्झाउन सघाउने सीमाविद् श्रेष्ठको धारणा छ।