राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवन उद्घाटन



काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको भवन उद्घाटन गरिएको छ। राजधानीको टोखा नगरपालिकामा बनेको प्रतिष्ठानको भवन आज आइतबार नगरका मेयर प्रकाश अधिकारी को प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हाे।

प्रतष्ठानका अध्यक्ष बद्री पंगेनीले भवन उद्टानसँगै ‘हामी सबैको रहर, प्रतिष्ठानको आफ्नै घर’ नाराले साकार पाएको बताए। साथै उनले भवन निमार्णको अभियानमा साथदिने सबै संघ-संस्था र व्यक्तिलाई आभार प्रकट गरेका छन्। पंगेनीले प्रतिष्ठानको अध्यक्षमा निर्वाचित भएपछि संस्थाको आफ्नै घर बनाउने वचन दिएका थिए।

गत बैशाख २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रतिष्ठानको भवन शिलान्यास गरेका थिए। सुविधासम्पन्न हल, ५ कोठासहित दुई तले भवन निर्माणको जिम्मा सागर एण्ड कुण्ड निर्माण सेवाले लिएको थियो। भवन करिब ८३ लाखको लागतमा बन्ने भनिए पनि केही लागत तलमाथि हुने प्रतिष्ठानका अध्यक्ष पंगेनीले जानकारी दिएका छन्।

१२ असोज २०७३ मा प्रतिष्ठानको छैठौं महाधिवेशनबाट गायक पंगेनीको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन भएको थियो। प्रतिष्ठानको अध्यक्ष पदका लागि गायक पंगेनी, विष्णु खत्री र टिकाराम चपाईंको उम्मेदवारी परेको थियो।

पंगेनीले खत्री र चपाईंलाई भारी मतको अन्तरले हराउँदै विजयी भएका थिए। पंगेनीले ८८८ मत प्राप्त गरेका थिए। अध्यक्षका दुई प्रत्यासी खत्रीले ५०८ र चपाईंले ३३० मत ल्याएका थिए। पंगेनीको तीन वर्षीय कार्यकाल सकिँदैछ। आगामी ७ औं कार्यकालका लागि यहि मंसिर ६,७ र ८ गते कास्कीको पोखरामा प्रतिष्ठानको महाधिबेशन हुँदैछ।

प्रतष्ठिानका अध्यक्ष पंगेनीको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बरविरही गुरूङ, पूर्व अध्यक्ष प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरूषोतम न्यौपाने, चन्द्र शर्मालगायतको उपस्थिति रहेको थियो। प्रतिष्ठान २०५७ सालमा स्थापना गरिएको थियो।