स्पेनिस ला लिगा शीर्ष स्थानमा बार्सिलोना



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति आफ्नै मैदान नाउ क्याम्पमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे। त्यस्तै, क्लेमेन्ट लेङलेट, आर्थुरो भिडाल र लुइस स्वारेजले गोल गरे। रियल भालाडोलिडका लागि किकोले गोल फर्काएका थिए।

खेलको दोस्रो मिनेटमा नै क्लेमेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर खेलको १५औं मिनेटमा किकोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए।

खेलको २९ औं मिनेटमा भिडाल र ३४औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोना पहिलो हाफसम्म ३-१ गोलअन्तरले अघि रह्यो। त्यसपछि खेलको ७५औं मिनेटमा मेस्सी र ७७औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ५-१ गोलअन्तरको जित दिलाएका हुन्।

यो जितसँगै बार्सिलोनाले १० खेलबाट २२ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ। पराजित रियल भालाडोलिड भने लिगको नवौं स्थानमा छ। लिगको दोस्रो स्थानमा भने ग्रानाडा छ।