“काचैँ खाइएको देश”
पुरानाहरूले देश काच्चै खाए ,
कागजका सपना, कमिसनका जहाज उडाए।
तारे होटलमा खोला, नाला, सिमाना बेचे,
जनताको खुन पसिनाले मुछेको अन्नलाई भोज माने।
देशलाई काँचै टेबुलमा राखेर नुन ,तेल हाल्दै
कसरी गिलास ठोक्ने भनेर जाने।
तर नयाँले भने अर्को अध्याय लेखे,
काधमा झण्डा ,हातमा टायर र पेट्रोल लिए।
न्यायको नाममा न्यायालय जलाए
भ्रष्टाचार जलाउने भन्दै सिंहदरबार जलाए।
देशको घाउ निको पार्नु परकै कुरा हो,
घाउमा झन् नुन,चुक छर्किए हामी नयाँ हौँ भन्दै,
हामी “जेन्जि”हो भन्दै ।
सडकमा खुन, धुवाँ, र चिच्याहट मिसिए,
देशका सिमाना, सन्धि मेटाए,
अस्पतालका सिसा फुटे,
व्यवसायका सपना भासिए,
जो बचाउनु पर्ने कुरा थिए ती सब खरानी भए।
सहिदको शुद्ध रातो रगतमा मिसियो निराशाको छाया,
र देश फेरि एकपटक रोगी बन्यो।
पुरानाहरूले काच्चै खाँदै पेट फुलाए,
नयाँले पोलेर खाँदै खरानी बनाए।
फरक के रह्यो र ?
एकले लुटेर थिचे पछि, अर्कोले जलाएर फ्याँके पछि।
यो देशले बहुत थकान मात्र पाएको छ,
कहिले पुरानो कुशासनमा, कहिले नयाँ अराजकतामा।
हामीले नसोचेका हातहरूले हाम्रो भविष्य समातेका छन,
र ती हातहरू कहिले रगतले, कहिले धुवाँले रङिएका छन।
देश प्रेम गर्नेहरू ले किन बिर्सिए ?
प्रेम भनेको जलाउने होइन, बनाउने हो भनेर।
यो किन थाहा पाउन सकेनन् ?
न्याय पाउने अदालत जलाएर होइन,
सत्य बोल्न सक्ने हिक्मत बोकेर हो।
पुरानाहरूले देश काच्चै खाए, नयाँले देश पोलेर खाए ।
अब त्यो आउनु पर्छ !
जो तिर्खित देश को घाँटीमा ,
टिप टिप पानीका थोपा खसाल्न सक्छ ।
भत्किएका पर्खालमाथि ईमानका इटाले जग राख्न सक्छ ।
देशलाई नपोल्ने, नखाने,
शोषण रत्ती नगर्ने ,
तर पोषण भरपूर गर्ने ।
जय देश
– गणेश बोहरा (कालिकोट, हाल दक्षिण कोरिया)




