नेकपा विप्लवको उपत्यका इन्चार्जमा चिरन



काठमाडौ। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको उपत्यका इन्चार्जमा चिरनलाई चयन गरेको छ।

उपत्यकाको नेतृत्व गरिरहेका नेताहरूको एक पछि अर्काे गर्दै सरकारको गिरफ्तारीमा परेपछि विप्लवले नेतृत्व परिवर्तन गरिरहेका छन्।

लामो समयदेखि उपत्यकाको कमाण्ड सम्हालेका माइला लामाको गिरफ्तारी पछि नारायणी ब्यूरो इन्चार्जको जिम्मेवारीमा रहेका चिरनलाई उपत्यकाको जिम्मेवारी दिएको छ।

माइलाभन्दा अगाडी विप्लवको पार्टीले उपत्यका ब्यूरो इन्चार्ज कृष्ण धमला (गम्भिर) लाई बनाएर पठाएको थियो। तर उनी उपत्यका आउने क्रममा थानकोटबाटै पक्राउ परेपछि माइलालाई जिल्ला इन्चार्जको रुपमा जिम्मेवारी दिएर पठाएको थियो।

माइलाको पक्राउ पछि उपत्यका आएका धिरेन्द्र उपाध्याय पनि पक्राउ पर्यो। जसलाई उपत्यकाको जिम्मा दिने तयारीमा विप्लवको पार्टी लागेको थियो। धिरेन्द्र उपाध्यायको पनि गिरफ्तारीपछि विप्लवको पार्टीले पूर्व स्थायिन विकास राज्यमन्त्री समेत रहेका नविन विश्वकर्मा (हितमान) लाई उपत्यका ब्यूरो इन्चार्ज बनाएको थियो। तर, उनी पनि गत महिना पक्राउ परे।

त्यसपछि फेरि उपत्यकाको नेतृत्व संकटमा पर्‍यो। तर हालै बसेको पार्टी केन्द्रीय समिति बैठकले एकपछि अर्काे नेता उपत्यकामा टिक्न नसक्नुका कारणका बारेमा गम्भिर समिक्षा गर्दै नयाँ इन्चार्ज पठाएको स्रोतले बताएको छ।

अहिले नयाँ जिम्मेवारी लिएर आएका चिरन पुन रोल्पाली नेता हुन्। उनले यस अगाडी सरकार र विप्लवको पार्टीका बीचमा अनौपचारिक वार्ताको प्रयास चलिरहदा सरकारी वार्ता टोलीका तत्कालिन संयोजक सोमप्रसाद पाण्डे लगायतसँग चितवनमा भेट गरेका थिए। उनी प्रगतिशिल गीत पनि लेख्ने गर्छन।