२०८२ भाद्र २३ र २४ गते नेपालका निम्ति कालो दिन । बैदेशिक स्वार्थ र मौका कुरी रहेका प्रतिगामीहरूको निम्ति खुशीको दिन । ती दुई दिन असली नेपालीका निम्ति भने कालो दिन, असह्य दिन हुन् । कलिला भाईबहिनीहरूले भ्रष्टचार अन्त्यको माग गरेर सुरू गरेको आन्दोलनमाथि राज्यको क्रुर दमन र त्यसको प्रतिक्रियामा भएको आगजनी, तोडफोड कहालि लाग्दो भयो । एकैछिन अघि खुलेको काठमाडौँसहित देशको आकाश राष्ट्रिय सम्पत्ति जलेको धुँवाले कालो बन्यो । पहिलो र दोस्रो दिनमा तीन दर्जन जति मानिसहरूले अनाहकमा ज्यान गुमाउनु पर्यो । आँखै अगाडि देश खरानी बन्यो । यस्तो दिन कुनै पनि पुस्ताका नेपालीहरूले देख्न नपरोस् । यो हदको दुःखको सामना गर्न नपरोस् । २३ गते राज्यले गल्ति गर्यो । भाद्र २४ गते आन्दोलनकारीहरूले गल्ती गरे । युवाहरूको जीवन समाप्त भएको र देश खरानी बनाएको बारेमा लेख्न निक्कै गाह्रो कुरा रहेछ।
खैर, लेख्नु त पर्यो । जेन जी र जेन जीको समर्थनमा सडकमा आएका घुस पैठवालाहरूले एक दिनमै देश जलाएर खरानी बनाए । जुन क्षतिको यकिन गर्न धेरै समय लाग्नेछ । जेन जी पुस्ताको आन्दोलन ठिक थियो, तरिका ठिक भएन । माग जायज थिए, तर, त्यसलाई पुरा गर्ने तरिका मिलेन । कुनै नेता छैन, कुनै विन्दु छैन । कुनै शीर्षकमा सहमति छैन । सामाजिक सञ्जाल बन्दको विरूद्धमा उठेको आन्दोलनले आखिर के गर्यो त ? भन्ने सवाल जोडले उठेको छ । नेताका घर जलाएर, सार्वजनिक सम्पत्ति ध्वस्त पारेर, नेताका श्रीमती जिउँदै जलाएर, सांघातिक आक्रमण गरेर पाइयो के त ? यसरी गतिहिन बनेर कोही पनि कहिँ पुग्दैन । लासको मलामी बन्ने, देश जलाएर खरानी घस्ने र प्रधानमन्त्री पदको लागि जंगी अड्डासँग भिख माग्ने ? देशको राष्ट्रपतिसँग वार्ता र सम्वाद गर्न किन नखोजेका ? जेन जीहरूको आन्दोलनको सफलता यहि हो ?
जेनजीेहरूसँग सोध्नपर्ने यस्ता तमाम सवाल छन् । तर, अहिले नै सोधिने छैनन् । सयम क्रमसँगै सवालहरू सार्दै जानेछौँ । भ्रष्टचारको अन्त्य, रोजगारी, उत्पादन, सुशासन जस्ता अनिवार्य कुराका निम्ति हामीले दशकौंदेखि प्रयास गर्दै आएका थियौं । तर, हामीले यो तहको हिंसा र ध्वशंको बाटो रोजेनौं । संविधानले हरेक पाँच वर्षमा ठिक नलागेका नेताहरूलाई हटाउने सुविधा दिएकै छ, हाम्रो देश भौगोलिक र सामरिक रूपमा अतिसंवेदनशील छ भनेर हामीले यो तहको सीमा कोर्न चाहेनौं । तर, पार्टी सत्ता र राज्य सत्ताका नालायकीका विरूद्धमा जहिल्यै उभियौंँ । जेन जीले हाम्रो प्रयासलाई देख्यो कि देखेन थाहा छैन । किन भने जेन जि चर्चित अनुहार चिन्छ, अन्टसन्ट लेख्ने र बोल्नेलाई आर्दश मान्छ । सहती कुराको सार भेटिदैन भन्ने कुरा भुल्छ । यस्ता तरवहरलाई कसरी जायज कसरी मान्नु ?
खैर, कुनै पनि आन्दोलन र क्रान्तिमा क्षति हुन्छ, मानविय र भौतिक क्षतिबिना नयाँ निर्माण हुँदैन । तर, हाम्रो देश जुन गतिमा अघि बढिरहेको थियो, यो स्थितिमा यो प्रकारको विध्वशं आवश्यक भने पक्कै थिएन । सबै लोकप्रियता र सहति कुरालाई मात्रै सही मान्ने हो भने भन्नु केही छैन । तर, तत्थ्य र प्रमाणले सत्यको खोजि गर्ने हो भने वर्तमान संविधानले यो प्रकारको ध्वंशको परिकल्पनासमेत गर्दैन । मुलुक जसरी चलिरहेको थियो, त्यो ठिकठाठ थियो भनेर कहिल्यै भनिएन । दोस्रो जन आन्दोलनपछि जसरी मुलुकले गति लिनुपर्ने थियो, त्यो भएन भनेर हामीले तममा पटक लेख्यौं, बोल्यौं र भन्यौं । तर, हाम्रो आवाज सानो भयो । हामीले पार्टी सत्ता र राज्य सत्तामा राम्रा मान्छे पठाउन सकेनौं । हाम्रा मान्छे पुगे । सत्ता, शक्ति र सम्पत्ति गलत मान्छेको हातमा परेपछि त्यसको दुरूपयोग हुन्छ र गर्छ भनेर लेखियो । सबै म मात्रै जान्ने, बुझ्ने, कसैको कुरा नसुन्ने, मैमत्त शासक र नेताहरूको कारण आजकोदिन आएको हो भन्ने कुरामा विमति छैन । अर्को कुरा नेताले चलाएको देश यस्तै हुन । नीति, कानूनले चलाएको देश सिस्टमेटिक हुन्छ । त्यस्तो देशका नागरिक अनुसाशित हुन्छन् ।
देशलाई आजको हालतमा ल्याउनेहरू सिमित नेता थिए । जसका विरूद्धमा जनआक्रोश थियो । त्यो विष्फोड हुन्छ भन्ने पूर्वानुमान हामीले पहिले नै गरिसकेका थियौं । हामीले लोकतन्त्रका नाममा चलाएको दलतन्त्र र नेतातन्त्रको विरूद्धमा लेख्यौं । नेताहरूको भ्रष्टमतिले देश बिगारेको बारेमा लेख्यौं । लेख्न बाँकी केही राखेनौं । लेखे वापत कारबाहीसम्म भोग्नुपरेको हो । तर, नेपाली नेताहरूले हाम्रा कुरा सुनेनन् र हामीलाई पराजित गरेको र कारबाही गरेकोमा विजय उत्सव मनाए । आज जेन जीहरूले उनीहरूका घर जलाएका छन्, मान्छे जलाएका छन् । यो निकै दुःखद विषय हो ।
यस्तो किन भयो ?
जेन जीहरूले सुरू गरेको भ्रष्टचार विरूद्धको आन्दोलन सकारात्मक र आवश्यक थियो । पहिलो दिन (२०८२ भाद्र २३ ) नै हिंसात्मक बन्यो । प्रदर्शनकारीहरूले निषेधाज्ञ क्षेत्र तोडेर संसद भवन छिर्न खोज्दा सुरक्षाकर्मीको गोलि लागेर दर्जनौंको ज्यान गयो । राज्यले उनीहरूमाथि अपराध गर्यौ । केपी ओली जस्तो क्रुर र दम्भी मान्छेबाट यो देशमा शान्ति, अमन चयन, सुशासन, लोकतन्त्रको रक्षा, यवाहरूलाई रोजगारी प्राप्त हुन्छ भन्ने कुरा हामीले कहिल्यै अपेक्षा गरेनौं । किन कि हामीले केपी ओलीलाई हामीले नजिकबाट चिनेका थियौं । उनी कति निरंकुश छन्, यीनले केसम्म गर्दैनन् ? भन्ने कुरामा हामी स्पष्ट थियौं । तर, पनि उनको अन्त्य सन्नीकट थियो । सोही कारण हामी केही प्रतिक्षारत रहेका थियौं । तर, युवाहरू धैर्य रहेनन् । फलस्वरूप असक्ष, भ्रष्ट र तस्कर नेताहरूको दुःखद अन्त्य भयो । यो एक हिसाबले राम्रो कुरा हो । तर, दुःखद के भयो भने नेताहरूको आक्रोशमा उत्रिएका युवाहरूले सरकारी र सार्वजनिक सम्पत्ति खरानी बनाए । देश खरानी बनाउदै गर्दा जो जसबाट परिचालित या घुसपैठ भएपनि यो हाम्रो सार्वजनिक सम्पत्ति हो, जलाउनु हुन्न भन्ने कसैले भन्न सकेन । किन कि त्यो आगोमा त्यस्ता कुरा सुन्ने अवस्था हुँदैन ।
शंका विभिन्न उठ्न थालेका छन् । जेन जिहरूको मात्रै आवेग र उत्तेजनामा यत्रो विध्वशं सम्भव भयो ? हामीलाई लाग्छ यो सम्भव भएको होइन । पक्कै पनि देशी तथा विदेशी चलखेल र घुसपैठ थियो । साथै कारागारमा रहेका कैदीहरूले देशका हरेक जसो अदालतमा आगो लगाउने काम गरेको स्पष्ट छ । अहिलेको पुस्ताका आर्दश बालेन, हर्क, रवि जस्ता मान्छेहरूको उक्साहटले पनि यो दिन आउनमा केही भूमिका पक्कै खेलेको देखियो । केपी ओलीको अपराध त क्षम्य थिएन । त्यसैमा रविहरूको मौकाबाजी र स्टन्टबाजी राजनीतिले पनि देशलाई खरानी बनाउने काममा योगदान रहेको देखियो । नख्खु कारागारमा रहेका रवि लामिछानेलाई आन्दोलनको दोस्रो दिन बिहानदेखि नै उनका समर्थक र उनको पार्टीका सांसदहरू जम्मा भएका थिए । रिहा गरियो भन्दै उनकै पार्टीका सांसदहरूले नाराबाजी गरेको भिडियोहरूले यस दाबीलाई थप पुष्टि गर्छन् ।
रास्वपाले चाहेको सुशासन यही हो ? देशभरका कैदीहरूले भनिरहेका छन्, रवि निस्किन पाउने, हामीले नपाउने ? देश भरका हजारौं कैदीहरू भागेका छन् । यसको जिम्मा कसले लिने ? देश खरानी भयो ? यसको जिम्मा कसले लिने ? दर्जनौं युवाहरूको निर्मम हत्या भयो, आन्दोलनकारीहरूले जलाएका घरमा जलेर खरानी भएकाहरूको जिम्मा कसले लिने ? यि तमाम सवालहरूको जवाफ पनि अहिले खोज्दैनौं । आगतले खोज्दै जाला । भाद्र २३ र २४ गते जे भयो, नहुनुपर्ने भयो । शान्तिपूर्ण बाटो र वैधानिक बाटोबाट पनि समस्या समाधान हुन्छ भन्ने कुरा जेन जिहरूले बुझ्न सकेनन् । राल्यले यत्रो खसाप हुन्छ भन्ने पूर्वानुमान गर्न सकेन । सामाजिक सञ्जाल फेशबुक बन्द गरेकै कारण उत्पन्न भएको आन्दोलन थियो । त्यसमा केही राष्ट्रिय मुद्धा थपिएका थिए । अदालतको आदेश र सरकारी निर्णय अस्विकार गरेको समाजले राज्य सत्ता, अदालत र संसद एकै पटक खरानी बनायो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकैसाथ ध्वस्त हुँदा देश राज्य विहिन भएको छ । जनता राज्यविहिन बनेका छन् । सरकार छैन । प्रहरी छैन । कर्मचारी छैन । जनता त्रासमा बाँच्न बाध्य छन् । देशमा यस्तो शून्यता कहिँ र कतै भएको थिएन । जो हाम्रो देशमा भइरहेको छ । अर्को कुरा जनताहरू यस्तो किसिमको त्रासदीमा कहिल्यसम्म बस्न सक्छन् ? जेन जिले विचार गर्नुपर्छ ।
अब के गर्ने ?
युवाहरूका धेरै कुरा सुनिए । साथै सेनाको अड्डामा भएको बहस पनि सुनिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस पनि सुनिए । स्वीकार गर्न गाह्रो होला । जतिपनि युवाहरूले नाम लिएका मान्छेहरू छन् र जुन अवस्थाबाट देश सञ्चालन गर्ने प्रयास गरिदै छ, यो कुनै हालतमा मिलेको छैन । हामीले आवेग र उत्तेजना त्याग्नुपर्छ । देश खरानी हुँदासम्म र लासको थुप्रो बन्दासम्म पनि हामी आवेगमुक्त नहुने ? देशी विदेशी शक्ति केन्द्रहरूले देशलाई थप अस्थिरतामा लैजान चाहान्छन् । यो कुरा युवाहरूले कहिले बुझ्ने ? एक लाइनमा भन्दा यो राज्य शून्यताबाट देशलाई बाहिर ल्याउनका निम्ति पहिलो संवैधानिक प्रक्रियाबाटै निकास खोज्यौ । श्रीलंकाले संसदबाटै समाधान खोज्यो, उ राम्रो बाटोमा हिड्यो । बंगलादेशले संसद बाहिर गएर अभ्यास गर्यो, उ अहिले पनि अस्थिर बनिरहेकै छ । युवाहरूले हाम्रा छिमेकीबाट पनि सिक्ने कि ? अर्को कुरा सबै आफूमात्रै भन्नाले पुराना नेताहरू विग्रका हुन् । अनि अहिले नयाँ भनेर आएकाहरूले देश भित्रका नागरिक अगुवा, पापड, मानवअधिकारवादी, पत्रकार, लेखक आदीका कुरा र सुझाव मान्नपर्दैन ?
जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको अवस्थामा दिएका सुझावहरूलाई नसुन्ने ? जेनजीले उठाएको संरचनात्मक सुधारका मागहरूलाई समेट्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियामार्फत उन्नत लोकतन्त्रको अभ्यासमा अगाडि बढ्नुपर्ने सुझावलाई जेन जिले नसुन्ने ? के हाम्रो देशको लोकतन्त्र एक दिनको आन्दोलनले खरानी बनाएकै हो ? यावत प्रश्नले घोचिरहेको अवस्थामा यत्ति भन्न सकिन्छ, कि युवाहरूले संवैधानिक प्रक्रियालाई अवलम्बन गर्ने र त्यसको आधारमा आफ्ना मागहरूलाई स्थापित गर्ने काम गर्नुपर्छ । त्यो बाहेक अर्को कुनै प्रक्रिया अपनाउदा हाम्रो देशको सामरिक, भौगोलिक अवस्थितिलगायतका कुराहरूले देशको भविष्य थप अस्थिरतातर्फ लैजाने देखिन्छ । देश जसोतसो चलेकै थियो । अब त्यो पनि नहुने भयो भने जेन जी आन्दोलनलाई नेपाली जनताले माफ दिने छैनन् ।
सबै कुरा आवेग र आन्दोलनबाट मात्रै समाधान हुन्छन् भन्ने कुरा साचो होइनन् । सबैले आफ्ना स्वार्थ त्यागेर खरानी बनेको देशलाई सुनौलो दिशातर्फ लैजानका निम्ति सुरूवात गरौं । नेपाल अत्त्यन्तै संवेदनशील मुलुक हो । यसको इतिहास विराट छ । हामीसँग सम्भवाना धेरै छन् । हाम्रो देशका छिमेकीहरूले आँखा गाडिरहेका छन् । पहिलेकाले सनेनन् र गरेनन् भन्ने जेनजीहरूको काँधमा देशको महत्वपूर्ण जिम्मेवारी आएको छ । यसलाई कसरी सञ्चालन गर्छन् र कसरी देश जोगाउछन् ? त्यो भने हेर्नका निम्ति सयम कुर्नुपर्ने छ । तर, सबै जिम्मा जेनजीहरूलाई छोडेर अन्य दलका मान्छेहरू उम्किन मिल्दैन । शून्यताबाट देशलाई मुक्त गर्नका निम्ति सबैले सचेततापूर्वक योगदान गरौं, यसैमा देशको बाँकी भलो हुनेछ । पहिलो कुरा देशी विदेशी हस्तक्षेपबाट मुक्त हुनुपर्छ । यत्ति गर्न सकियो भने देश लयमा हिड्न सक्छ । चेतना भया ।




