काठमाडौँ। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमवार कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो। कर्णालीले पहिलो सेट २५-२२ ले जित्यो।
एक सेट गुनाएको काठमाडौं दोस्रो सेटमा खेलमा फर्कने प्रयासमा थियो। कर्णालीलाई कडा चुनौती पनि दियो। तर दोस्रो सेट कर्णालीले २९-२७ ले जित्यो। खेलमा २-० को स्पष्ट अग्रता बनायो।
खेल जित्ने संभावनालाई कायमै राख्न तेस्रो सेट जित्नुको विकल्प काठमाडौंलाई थिएन। तेस्रो सेट प्रतिस्पर्धात्मक बने पनि काठमाडौं यो सेटमा पनि चुक्यो। २८-२६ ले दोस्रो सेट जित्दै कर्णाली सोझो सेटको जितमा साथ खेल आफ्नो पक्षमा पार्न सफल भयो। कर्णालीकी आना फ्लाभिया प्लेयर अफ द म्याच घोषित भइन् ।
कर्णालीले यसअघि पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई पराजित गरेको थियो। जितसंगै कर्णालीले ९ अंक जोडेर शीर्ष स्थानमा छ। काठमाडौंले दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएको थियो । दोस्रो खेलमा भने काठमाडौंले मधेश युनाइटेडलाई हराएको थियो ।
आजको दोस्रो खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच भैरहेको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ।
साभारः हाम्रो खेलकुद




