आरजुको आडमा रोज राणाको दादागिरी, मन्त्री कार्कीलाई ज्यान मार्ने धम्की



काठमाडौँ। लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले प्रदेश सरकारकै अर्का आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीलाई ज्यानमार्ने धम्की दिएको खुलासा भएको छ।

एक विश्वस्त स्रोतका अनुसार २३ जेठ २०८२ का दिन फोन गरेर राणाले कार्कीलाई गोली चलाउने र मारिदिने धम्की दिएका हुन्। स्रोत भन्छ, ‘कानुनभन्दा बाहिर गएर तथा कानुनअनुसार रकमान्तर गर्न नमिल्ने योजनालाई जबरजस्ती रकमान्तर गर्न लगाउने, महिला सांसदहरुमाथी लैङ्गिक हिंसात्मक शब्द बोल्ने, धम्काउने र कसैले सम्झाउदा महिलामाथी हिंसा नगर्नुहोस् भन्दा कसले के गर्न सक्छ, मलाई आरजु राणाको साथ छ’ भन्दै राणाले दादागिरी मच्चाइरहेका छन्।

स्रोत अगाडि भन्छ, ‘योजना छनोट वितरणमा कुनै कानुनलाई नटेकी कसले मलाई रोक्न र छेक्न सक्छ भन्नुहुन्छ। दाङको लमहीमा रहेको प्रदेश सरकारको मन्त्री क्वाटरमा रक्सिको चुस्कि लगाउने र आरजु राणाको आडमा दादागिरी मच्चाउने गर्नुभएको छ।’

संघीय सरकारको परराष्ट्र मन्त्रीसमेत रहेकी आरजु राणाको आडमा रोज राणाले लुम्बिनी प्रदेशमा दादागिरी र गुण्डाराज मच्चाउन थालेपछि देउवा निवास बुढानिलकण्ठमा छलफल हुन थालेको छ।

आरजु राणाको आडमा दादागिर चलाइरहेका मन्त्री राणालाई पार्टी सभापति शेरबहादुर देउवाले सुध्रिन र यदि नसुध्रे मन्त्रीबाट फिर्ता बोलाउने चेतावनीसमेत दिएको स्रोत बताउछ। तर, सभापति देउवाको चेतावनीलाई अटेर गर्दै राणाले अझैँपनि महिलामाथि तथानाम बोल्ने र हिँसा जन्य वाक्य प्रयोग गर्न नछोडेको स्रोतको भनाई छ।

नोटः यसका सन्दर्भमा मन्त्री राणालाई फोन गर्दा पहिलो पटक सम्पर्क भयो। तर, फोन उठेन । दोस्रो पटक फोन गर्दा सम्पर्क नहुने बनाएपछि उनको बाइट लिन असमर्थ रहेको छौँ। –सम्पादक