पोर्चुगललाई दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि



काठमाडौं। पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ।

आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको हो।

टाइब्रेकरमा पोर्चुगल ५-३ ले विजयी भयो । पोर्चुगलका लागि गोन्सालो रामोस, भितिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डेस र रुबेन नेभेसको प्रहार गोलमा परिणत भयो। स्पेनका मिकेल मेरिनो, एलेक्स बेना र इस्कोको प्रहार गोल हुँदा अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए।

त्यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट अतिरिक्त समयमा २-२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो। खेलमा स्पेनले दुईपटक अग्रता लिएपनि जोगाइराख्न सकेन। २१औं मिनेटमा मार्टिन जुयामेण्डीले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए।

त्यसको ५ मिनेटमा नै नुनो मेन्डेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४५औं मिनेटमा मिकेल ओयरजाबालले गोल गरेपछि पहिलो हाफमा स्पेन २-१ ले अगाडि रह्‍यो।

दोस्रो हाफको ६१औं मिनेटमा स्टार सिनियर खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल पुन: बराबरीमा ल्याए । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा गयो। पोर्चुगलले यसअघि नेसन्स लिगको पहिलो संस्करण २०१८-१९ को उपाधि जितेको थियो । त्यसयता फ्रान्स र स्पेनले १-१ पटक उपाधि जितेका थिए।

भेट्रान स्ट्राइकर रोनाल्डोका लागि पोर्चुगलबाट यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि बन्यो । यसअघि सन् २०१६ को युरो र २०१९-१९ को नेसन्स लिग पोर्चुगलले जितेको थियो । पोर्चुगलले फिफा विश्वकप फुटबलको उपाधि भने जित्न सकेको छैन ।