काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने बताएका छन्। तर, गृहमन्त्री रमेश लेखकले राजीनामा दिने वा नदिने भन्ने कुरा स्वयम लेखकमा निर्भर रहने उनको भनाई छ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने बताएका हुन्। उनले भने,‘हामीले यो प्रकरणमा सत्यतथ्य बाहिर ल्याउनको लागिपनि छानबिन समिति बनाउनुपर्छ भनेका छौँ। अहिलेको गृहमन्त्रीको मात्रै नभएर कतिवटा गृहमन्त्री, सचिव र अध्यागमनमा खटिएकाहरु छन्, जो जो दोषी छन्, सबै कारबाहीको दायरामा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो। मानव तस्करको अपराध गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ।’
भिजिट भिसाको नाममा अवैध बाटोबाट गएकाहरु घरेलु हिंसामा परेको र ठगिएको उनले सुनाए। उनले भने,‘हाम्रा नेपाली नागरिक कुन देशमा कति मान्छे छन् भन्ने सरकारसँग तथ्यांक छैन्। अवैध बाटोबाट जानेहरु ठूलो पीडामा छन्। उनीहरुको पासपोर्ट खोसिएको छ। नेपाल फर्किएर आउने अवस्था छैन। नेपाली नागरिकलाई रेस्क्यु गर्नुपर्छ।’ उनले भिजिट भिसा प्रकरण अहिलेमात्रै बाहिर आएको भन्दै यस्तो घट्ना पहिल्यैदेखि नै भएको हुनसक्ने आफूहरुको आशंका रहेको बताए।
उनले वर्तमान सरकार गलत नियतको साथ बनेको दाबी गरे। उनले भने,‘यो सरकार सही नियतका साथ होईन गलत नियतको साथ बनेको हो आफ्नो अपराधको ढाकछोपको लागि बनेको हो। फाईलहरु भटाभट खोल्नुपर्दैन? हिजो खोलिएका फाईलहरु तामेली गरिएको छ। भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ हरायो? गिरिबन्धु टि–स्टेट प्रकरणमा जग्गा व्यक्तिलाई र निजीलाई किन दिईयो? नियत के थियो? भनेर हामीले सोधेका हौँ।’
उनले अहिले मुलुकको अर्थतन्त्र ओरालो लाग्दो अवस्थामा रहेको चित्रण गरे। विदेश पलायनको लागि एयरपोर्टमा दिनहुँ ठूलो लाईन लागेको भन्दै देशको अवस्था खराब रहेको उनको भनाई छ। उनले भने,‘यो सरकारले कति प्रतिशत रोजगारी सिर्जना गर्यो? यति जनालाई रोजगारी दियौं भनेर डेटा पेश गर्न सक्छ? जनताले अहिले के भनेका छन्? के विषय उठाएका छन्? शक्तिशाली सरकारले जनताको मुद्दाको समाधान गरेको छ त? जनताले तिव्र विकास खोजेका छन्। के विकास भयो त?’
उनले आफूहरुले आरोपको लागि आरोप नलगाएको बरु प्रतिपक्षीय दायित्व पूरा गरिरहेको बताए। उनले तत्काल एमालेसँग सहकार्य गरेर आफ्नो दल सरकारमा जाने वा नयाँ एमाले–माओवादीबीच नयाँ गठबन्धन नहुने दाबी गरे। उनले भने,‘एमाले र माओवादीबीच तत्काल सहकार्य हुने कुरा शतप्रतिशत गलत हो। माओवादी सरकारमा सहभागी हुँदैन् । हाम्रो पार्टी सरकारमा जाने मनस्थितिमा छैन। हामी त जनतामा नै जाने हो।’