गैरसरकारी महासंघको आन्दोलनमा हाम्रो साथ रहन्छ: अध्यक्ष नेपाल



काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले युवा गैरसरकारी संस्था महासंघले नागरीक अधिकार कुण्ठीत गर्नेगरी गृह मन्त्रालयले अगाडी बढाएको संघसंस्था विधेयक विरुद्धको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने बताएका छन्।

बिहिबार महासंघका अध्यक्ष नारायण गिरी, कार्यवहाक महासचिव नरेश रिजालसहितको टोलीले पार्टीका अध्यक्ष नेपालसहित वरिष्ट उपाध्यक्ष राजेन्द्र पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।

ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष नेपालले नेपालमा गैरसरकारी संस्थाहरुको नियमन जरुरी भए पनि नागरीक अधिकार खुम्चाउने गरी ल्याईने कुनै पनि कानुन आफुहरुलाई मान्य नहुने बताएका हुन्। अध्यक्ष नेपालले आफ्नो पार्टीले यो कुरा उठाउन साथ दिने भएकाले समयमै खबरदारी गरेकोमा महासंघलार्इ आभारसमेत व्यक्त गरेका थिए।

संस्थाहरुको दर्ता, नविकरण, वर्गिकरण, अनुगमन तथा मुल्यांकन लगायत थुप्रै कानुनी व्यवस्थापन नेपालमा तुरुन्तै आवश्यक भए पनि यसकोलागि भैरहेको संरचना र व्यवस्था भन्दा पनि पछि हटेर एकपक्षियरुपमा नागरीक हक अधिकार कुण्ठीत गर्ने गरी अगाडी बढेको विधेयक असान्दर्भिक र अस्वभाविक भन्दै महासंघले जेठ १४ गने देखी दबाबमुलक कार्यक्रम गर्दै आएको छ।

नागरीक स्वतन्त्रता कमजोर बनाउन सरकारले गृह मन्त्रालयको नेतृत्वमा विधेयक बनाएकोमा आपत्ति समेत जनाउदै नागरीक संस्थाहरुको सहभागिता हुनुपर्ने माग राख्दै आएको छ।