काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सल्यान जिल्ला फलफूल, तरकारी, नगदे बाली र खाद्यान्न उत्पादनको दृष्टिले सम्भावनाहरूको भण्डार भएको बताउनु भएको छ।
मंगलबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै ज्वालाले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘सल्यान जिल्ला फलफूल, तरकारी, नगदे बाली र खाद्यान्न उत्पादनको दृष्टिले सम्भावनाहरुको भण्डार हो। सुन्तलतालगायतका फलफूलहरुको लागि बागचौर, छत्रेश्वरी, दार्मा, वेमौसमी तरकारीको लागि कपुरकोट, त्रिवेणी, अदुवा, बेसार, टिमुर जस्ता नगदे बालिको लागि बन्गाड कुपिण्डे, शारदा, सिद्ध कुमाख खाद्यान्नको लागि कालिमाटी, कुमाख पालिकाहरु प्रसिद्ध छन्।’
ज्वालाले अगाडि भन्नुभयो, ‘ती उत्पादनहरूलाई प्रश्रय दिनका लागि सिचाई ‘एक पालिका, एक कोल्ड स्टोर’ स्थापना र उत्पादित कृषि वस्तुहरूको विक्रिको लागि बजारको व्यवस्था गर्न सरकारसँग विशेष माग गर्दछु। सल्यान जिल्ला धार्मिक, ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। मिनी राराको नामले चिनिने अनुपम प्राकृतिक सम्पदा कुपिण्डे ताल, कुमाख लेक, धार्मिक महत्वका खैरावाङ, छत्रेश्वरी, कालिमाटी देउती बज्यै, त्रिवेणी धाम, देवस्थल कृष्ण मन्दिर, दार्मा मालिका, ऐतिहासिक फलावाङ दरबार, कपुरकोटको याले पौवालगायतका पर्यटक स्थलहरुको संरक्षण, सम्वर्द्धन र विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न ध्यानाकर्षण गराउँदछु। कृषि, पर्यटनलगायत क्षेत्रको तिव्र विकासका लागि विद्युत सेवा नपुगेका वडा र गाउँ बस्तीहरूमा पूर्ण विद्युतिकरणसहित उज्यालो सल्यान बनाउन र राप्ती, मदन भण्डारी, सल्यान कालिमाटी कोहलपुर सडकलगायत पालिका र वडा केन्द्र जोड्ने सडकहरूको स्तरोन्नतिको लागि पर्याप्त वजेट विनियोजन गर्न सरकारसँग जोडदार माग गर्दछु।’