भारत-पाकिस्तान लडाइँ रोक्न किन ताते ट्रम्प



 

काठमाडौँ। भारत र पाकिस्तानले सङ्घर्ष रोक्न भएको सहमति अर्को पक्षले उल्लङ्घन गरेको आरोप-प्रत्यारोप गरेपछि शनिवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको सङ्घर्षविराम कति टिक्ला भन्ने प्रश्न उठ्न थाल्यो। केही घटना भए पनि राति सङ्घर्षविराम लागु भयो।

विगत केही दिनदेखि सीमापारि हवाई हमला र गोलाबारी गर्दै आएका दुई प्रतिद्वन्द्वी देशको राजनीतिक नेतृत्वप्रति आफू विश्वस्त भएको सङ्केत दिँदै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनीहरूको फेरि खुलेर प्रशंसा गरे।

उनले कश्मीरको विषयमा विद्यमान विवाद समाधान गर्न आफूले दुवै देशसँग मिलेर काम गर्ने वचन पनि दिएका छन्। यद्यपि भारत र पाकिस्तानले उनको प्रस्तावबारे कुनै टिप्पणी गरेका छैनन्।

पाकिस्तानले आफू सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको र आफ्ना सैनिकहरू संयमित हुने जनाएको छ।

भारत र पाकिस्तानबीच सोमवार वार्ता हुने अपेक्षा गरिएको छ। अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले शनिवार भारत र पाकिस्तान “तत्काल युद्धविराम गरेर कुनै तटस्थ स्थानमा विविध विषयमा वार्ता गर्न सहमत भएको” बताएका थिए।

भारत र पाकिस्तान दुवैले कश्मीरमा आफ्नो स्वामित्वको दाबी गर्दै आएका छन्। तर सामान्यतया कश्मीरको एउटा भागमा भारतको र अर्को भागमा पाकिस्तानको शासन छ। कश्मीर मामिलालाई लिएर यी दुई देशहरूबीच पटक पटक युद्ध भइसकेको छ।

गत महिना भारत‍-प्रशासित कश्मीरको पहलगाममा सन्दिग्ध चरमपन्थी हमलाकारीहरूले गोली हानी एक नेपाली नागरिकसहित २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो। चरमपन्थीहरूलाई पाकिस्तानले सघाएको आरोप भारतले लगाएको थियो। तर पाकिस्तानले त्यसको खण्डन गरेको थियो।

ट्रम्पले शनिवार भारत र पाकिस्तान “तत्काल पूर्ण युद्धविराम गर्न सहमत भएको” घोषणा गरेका थिए। त्यसपछि दुवै देशका अधिकारीहरूले त्यसबारे सहमति भएको पुष्टि गरे।

ट्रम्पले के भने

दक्षिण एशियाली समयानुसार आइतवार बिहान सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा एउटा पोस्ट लेख्दै ट्रम्पले “धेरै मानिसको मृत्यु र ठूलो क्षति निम्त्याउन सक्ने वर्तमान आक्रामकता रोक्ने तत्परता देखाएकोमा भारत र पाकिस्तानका शक्तिशाली नेतृत्वप्रति आफू गौरवान्वित भएको” टिप्पणी गरेका छन्।

“तपाईँहरूको विरासतलाई तपाईँहरूको आँटिलो कार्यले सुदृढ बनाएको छ। तपाईँहरूलाई यो ऐतिहासिक र साहसिक निर्णयमा पुग्न संयुक्त राज्य अमेरिकाले सघाउन पाउँदा मलाई गर्व लागेको छ।”

उनले त्यस विषयमा छलफल नगरिएको भए पनि दुवै “महान् देश”सँग हुने व्यापार ठूलो मात्रामा बढाउने घोषणा पनि गरेका छन्।

पहलगाम घटनाको जबाफ दिन भन्दै भारतले गत मङ्गलवार मध्यरातपछि पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरका विभिन्न स्थानमा हवाई हमला गरेको थियो। त्यसपछि दुवै पक्षले एकअर्काले आफ्नो भूमिमा गोलाबारी गरेको अनि क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको आरोप लगाउँदै आएका थिए।

भारतले सैन्य कारबाही थालेपछि दुवै देशमा मानिसहरू हताहत भएका विवरणहरू पनि आएका छन्।

ट्रम्पको सक्रियताको अर्थ के हो

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले भारत-पाकिस्तानबीचको सम्भावित युद्ध आफ्नो चासोको विषय नभएको टिप्पणी फोक्स न्यूजलाई दिएको अन्तर्वार्तामा गरेका थिए। तर अहिले उनकै संलग्नतामा दुई देशबीच युद्धविरामका लागि मध्यस्थता भएको देखिएको छ।

बीबीसी संवाददाता जेक क्वोन ट्रम्प प्रशासनको स्वभाव “अलग्गै बस्नु” भए पनि यसपालि उसले यो द्वन्द्वमा आफ्नो शैली फेरेको छ।

“यो द्वन्द्व ह्वाइट हाउसले बेवास्ता गर्न नसक्ने बन्दै गएको थियो। व्यक्तिगत तहमा राष्ट्रपति ट्रम्प आफूलाई विश्वमा शान्तिस्थापकका रूपमा हेर्छन्। उनले आफ्ना विश्वासिला दूतलाई सङ्घर्षविरामका लागि मध्यस्थता गर्ने निर्देशनसहित इजरेल र रुस पठाउँदै आएका छन्,” क्वोन लेख्छन्।

इस्लामाबाद र दिल्लीबीच तनाव चुलिँदा ट्रम्पले त्यसलाई मत्थर पार्न आफू संलग्न हुनुपर्ने आवश्यकता देखेको उनको धारणा छ। “तर अझ रणनीतिक तहमा हेर्दा वाशिङ्टन चीनलाई रोक्न भारत निकै महत्त्वपूर्ण हुने ठान्छ।”

विगतका अमेरिकी सरकारहरूले पनि “चीनलाई घेराबन्दी गर्न” दक्षिण कोरियादेखि भारतसम्मका देशलाई आफ्नो साझेदार बनाएको प्रसङ्ग र ट्रम्पले केही समयअघि भारतका प्रधानमन्त्रीसँग सुरक्षा सहकार्य र व्यापार अझ बढाउने एउटा सहमति गरेको कुरा पनि महत्त्वपूर्ण भएको क्वोनको धारणा छ।

“अहिले पाकिस्तान चीन र इरानसँग नजिकिँदै गरेकोमा वाशिङ्टनले आफ्नो निकट साझेदार भारत एउटा भयानक द्वन्द्वमा फस्न लागेको र क्षेत्रीय सुरक्षा ठूलो खतरामा परेको आकलन गरेको हुनुपर्छ।”

सङ्घर्षविराम सहमति गराउन कसको हात

ट्रम्पले भारत-पाकिस्तान संघर्षविरामका लागि आफ्ना उपराष्ट्रपति जेडी भान्सले दुवै देशका शीर्ष नेताहरूसँग वार्ता गरेको दाबी गरेका थिए।

पछि पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले पनि सहमति गराउन ट्रम्पको “सक्रिय भूमिका” रहेको भन्दै उनीप्रति कृतज्ञता व्यक्त गरे।

राति टेलिभिजनबाट प्रसारित आफ्नो भाषणमा प्रधानमन्त्री शरिफले चीनलाई विशेष धन्यवाद दिए।

पाकिस्तानका विदेशमन्त्री इशहाक डारले युद्धविरामका लागि गरिएको कूटनीतिक पहलमा टर्की, साउदी अरब र अमेरिकासहितका “तीन दर्जन राष्ट्रहरू” संलग्न भएको स्थानीय सञ्चारमाध्यमलाई बताएका थिए। उनका अनुसार संघर्षविरामका लागि गरिएको वार्तामा र समाधान गर्ने प्रयासमा यूकेको भूमिका महत्त्वपूर्ण थियो। “यसमा यूकेका विदेशमन्त्री डेभिड ल्यामीले महत्त्वपूर्ण भूमिका निर्वाह गरे,” उनले भने। -बीबीसी