सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले मार्सी चामलको चर्चा गरेका हुन्। उनले आफूले पनि मार्सी चामल खाएको र त्यसले चर्चा पाएको पनि बताए।
‘चन्दननाथमा एयरपोर्ट नै छ। अगाडिदेखि त्यहाँ सन्त चन्दनाथले मार्सी चामल ल्याएर अहिले मार्सी चामल व्यापकै रुपमा चर्चित पनि छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली, जुम्लाको मार्सी चामल। मैले पनि कर्णालीको मार्सी चामल चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ।’ प्रधानमन्त्री ओलीले मार्सीबारे संसद्मा आफ्ना कुरा राख्दैगर्दा हाँसाको फोहोरा छुटेको थियो।
त्यस्तै, उनले कर्णालीमा केही भएको छैन भन्नु ठिक नभएको जिकिर गरे। ‘आज कर्णाली कसैलाई मन लागेर केही पनि भएको छैन भन्नु बेग्लै कुरा हो। म दर्जनौँ कुरा यहीँबाट ठूला ठूला कुरा भन्न सक्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘र, कर्णालीमा यार्सागुम्बा मात्रै होइन, गुछि च्याउजस्ता, ताप्लेजुङदेखि हुम्लासम्म गुछि च्याउ पाइन्छ।’