सुर्खेत। कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री विन्दमान विष्टले नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णालीमा आएर फन्टुस कुरा गरेको बताएका छन्।
पोखरेलले केही दिनअघि सुर्खेतमा आयोजित एक कार्यक्रमका ‘एमालेको सरकार आएदेखि कर्णालीमा सचिवहरू आउने लहर चलेको’ भनेका थिए। साथै उनले कांग्रेस र माओवादी नेतृत्वको सरकार हुँदा सचिवहरू आउनै नमान्ने गरेको पनि सुनाएका थिए। यद्यपि अझै तीन जना सचिव खाली रहेको र प्रभावकारी कार्य सम्पादनमा असर परेको बताउँदै सांसद समेत रहेका पूर्वअर्थमन्त्री विष्टले पोखरेलको आलोचना गरेका छन्।
‘एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व गरेपछि कर्णालीमा कर्मचारीरसचिव आउने प्रतिस्पर्धा छ भनेर एमाले महासचिवले भाषण गरेको सुनेको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महिनौँदेखि भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय निमित्तको भरमा छ, एक जना सचिव निवृत्तिभरणमा जानू भो र एकजना सचिव सरुवा हुँदा कम्तीमा तीन जना सचिव खाली भए।’
हिजोको सरुवामा त कर्णालीमा एकजना मात्रै सचिव पठाइएको छ। ‘प्रतिस्पर्धामा छान्न नसकेर हो कि महासचिवका फन्टुस कुरा हुन्,’ उनले भनेका छन्।