कालिकोट। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको बाटो उन्नत लोकतन्त्र र समाजवादी गणतन्त्रको भएको स्पष्ट पार्नुभएको छ।
शनिबार जिल्ला कमिटी कालिकोटको १०औँ जिल्ला अधिवेशन कालिकोटको रास्कोटमा उद्घाटन गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो। उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री बन्ने चाहना भए पार्टी खोलेर दलहरूसँग प्रतिस्पर्धा गर्न चुनौती दिनुभएको छ।
अध्यक्ष नेपालले कोही मान्छे राजा आऊ देश बचाउ भनिरहेको प्रसँग उल्लेख गर्दै सबैले राजालाई चिनिसकेको बताउनुभयो। ‘राजाको प्रधानमन्त्री बन्ने चाहना भए पार्टी खोलेर चुनाव लडे भइगो। वंशको शासन सम्भव छैन,’ उहाँले भन्नुभयो।
उहाँले चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको लुटपाट, चोरी र आगजनीबाट राजतन्त्रको असली रूप जनताले देखिसकेको बताउनुभयो।उहाँले अगाडि भन्नुभयो, ‘अबको बाटो उन्नत लोकतन्त्र र समाजवादी गणतन्त्रको हो। राजालाई सबैले चिनेका छन्, गतिला भए पो राजा।’
रास्कोटको विकास र समृद्धिका लागि जनप्रतिनिधि सक्रिय भएकोमा खुसी व्यक्त गर्दै उहाँले जनताको सुविधाका लागि इलाका प्रशासन कार्यालय आवश्यक रहेको बताउनुभयो। उहाँले जनतामा भएको निराशा चिर्न सरकारले उत्पादनमा जोड दिँदै रोजगारीमा वृद्धि गर्नुपर्ने सुनाउनुभयो।
तस्बिर: अनन्त बराल