काठमाडौँ। अखिल क्रान्तिकारीको उपाध्यक्षमा कालिकोटकी ममता अधिकारीले सर्वाधिक मत प्राप्त गरेकी छन्।
संगठनको २३औँ सम्मेलनमा अधिकारीले उपाध्यक्ष पदमा ८८२ मत पाएकी हुन्। आयोगतर्फ भने अधिकारीको भन्दा धेरै मत पाएका छन्। तर, पदाधिकारीमा अधिकरीले सर्वाधिक मत पाएकी हुन्।
प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशभर एकसाथ सम्पन्न भएको २३औँ केन्द्रीय सम्मेलनले अध्यक्षमा विजयप्रकाश सापकोटालाई विजयी गराएको छ। बुधबार सम्पन्न मतगणनामा सापकोटा ७१ मतको अग्रतासहित विजयी हुन्।
सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए। सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ । तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदिन पौडेलले जम्मा १९२ मत प्राप्त गरे। तर निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ ।
३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो। ९ प्रदेशमध्ये ७ प्रदेशको मतगणना यसअघि नै भएको थियो।
असोज १० देखि १५ गतेसम्म भएको क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा ३२ वर्ष उमेरहद लगाउने कि नलगाउने विषयमा विवादका कारण रोकिएको निर्वाचन चार महिनापछि सम्पन्न भएको छ। पुस १३ मा भएको उमेरहद खुला पक्षधर पराजित भएपछि ३२ वर्ष मुनिबाट आगामी २ वर्षका लागि संगठनको नेतृत्व हाँक्ने जिम्मेवारी सापकोटाको काँधमा आएको छ।
अधिकांश पदाधिकारी शर्मा पक्षधर
मतदानबाटै ३२ वर्षे उमेर हद लागू गरेर सम्पन्न अखिल क्रान्तिकारीको नेतृत्व प्रचण्ड पक्षधरले नै जित्दा महासचिव, कोषाध्यक्ष सहित अधिकांश पदाधिकारी जनार्दन पक्षले जितेका छन् । महासचिव जितेका रोशन थापा मगर र कोषाध्यक्ष जितेका फूलमाया राना मगर जनार्दन पक्षबाटै उम्मेदवार थिए ।
९ जना उपाध्यक्षमा जनार्दन पक्षधरकै चार जना निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित भएकाहरू सन्दिप पुन (६५७), ममता अधिकारी (८८२), कृष्ण बहादुर सुनार (४४५), उमेश कँडेल (३८९) पनि जनार्दन समूहका हुन् ।
अन्य पाँचमध्ये विजयप्रकाश सापकोटाको प्यानलबाट अटल आचार्य (५७१) र मदन ढकाल (५४१) निर्वाचित भएका छन् । अर्का उपाध्यक्षमा निर्वाचित विराज थापा (४८२) वर्षमान पुन निकट सुदिन पौडेलको प्यानलबाट प्रतिस्पर्धामा थिए । उपाध्यक्षमै निर्वाचित दीपा जैसी (४०८) र अभिमन्यू यादव (५७५) नारायणकाजी श्रेष्ठ पक्षधर हुन् ।
उपमहासचिवहरूमा त शर्माको लगभग एकलौटी जस्तो देखिएको छ । भूगोलका आधारमा निर्वाचित हुने उपमहासचिव मध्ये कोशीबाट जितेका बिपिन पोखरेल र उपत्यका विशेष प्रदेशबाट जितेका निरोज श्रेष्ठ बाहेक सातै जना शर्मा पक्षधर हुन् ।
निर्वाचित उपमहासचिवृ गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम) र जटिल कार्की (विश्वविद्यालय) जनार्दन पक्षका हुन् ।
बिपिन पोखरेल वर्षमान पुन निकट र निरोज श्रेष्ठ नारायणकाजी पक्षका हुन् ।
सचिवहरूमा पनि जनार्दन पक्ष हाबी भए । सचिव निर्वाचित विरेन्द्र जिसी, सम्झना राई, समकृति पुन, आर्टिस्ट मोक्तान, अमर मण्डल र युन्छो हाङ माबो जनार्दन शर्मा पक्षका हुन् ।
वर्षमान पुन पक्षबाट तिर्सना आले मगर र जितेन्द्र भण्डारी, नारायणकाजी पक्षबाट प्रेम जैशीले सचिव जिते । खुला सचिव जितेका शिशिर बस्याल तटस्थ तटस्थ उम्मेदवार हुन् ।
अर्थात् पार्टीभित्र पेलानमा पर्दै आएका उपमहासचिव शर्माले विद्यार्थी संगठनको चुनावबाट जबर्जस्त सन्देश दिन सफल दिएका छन् । शर्मा पक्षका राईले झण्डै अखिल क्रान्तिकारीको अध्यक्ष पदमै जितेका थिए ।
बलियो प्रतिस्पर्धा देखिएपछि केही दिन मतगणना नै रोकिएको थियो । प्रचण्ड पक्षले मतपत्रमा प्रयोग भएको रातो र कालो दुवै मसीलाई सदर मान्नुपर्ने अडान लिएको थियो । तर रातो मसी प्रयोग गर्ने पूर्वनिर्णयको पक्षमा अरु उम्मेदवार उभिए, र त्यसैअनुसार बाँकी गणना भएको थियो ।
अन्तिम नतिजा आउँदा भने प्रचण्ड पक्षधर सापकोटाले जिते । सापकोटालाई जिताउन पार्टीभित्र राम्रै कसरत भएको थियो । त्यसको एउटा उदाहरण कृष्णबहादुर महरा पक्षधर योगेन्द्रबहादुर बुढाले अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिनु हो । बुढाले उम्मेदवारी फिर्ता लिएर सापकोटा प्यानललाई समर्थन गरेका थिए । यद्यपि जनार्दन पक्षले दिएको टक्कर चानचुने देखिएन ।