रश्मीको दुई गोलमा पुनरागमन जित निकाल्दै एपीएफ फाइनलमा



काठमाडौँ। रश्मी कुमारी घिसिङले दुई गोल गरेपछि एपीएफले त्रिभुवन आर्मी एफसी विरुद्ध २-१ को पुनरागमन जित निकाल्दै एन्फा महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

सुरूमै पछि परेको एपीएफका लागि रश्मीले अन्तिम १५ मिनेटमा दुई गोल गरेपछि एपीएफले क्वालिफायर वानअन्तर्गत विभागीय डर्बीमा आर्मीमाथि सानदार कमब्याक गर्दै जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमा चौधरीले आठौं मिनेटमा गोल गर्दै आर्मीलाई सुरूवाती अग्रता दिलाएकी थिइन्। एक घण्टाभन्दा बढी समयमा आर्मी खेलमा अग्रता बनाउन सफल थियो। तर अन्तिम समयमा सम्हालिन सकेन।

७८औं मिनेटमा आर्मीकै डिफेन्सको गल्तीमा रश्मीले एपीएफका लागि बराबरी गोल फर्काइन् । त्यसपछि ८७औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाइन् । त्यही गोल निर्णायक बन्दा एपीएफ जित निकाल्दै फाइनल पुगेको हो ।

एपीएफ अब उपाधिबाट एक जित टाढा छ । एपीएफले आगामी बुधबार हुने फाइनलमा क्वालिफायर टु को विजेतासँग खेल्नेछ । पराजित भएपनि आर्मीले सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग क्वालिफायर टु खेल्ने अवसर पाउनेछ । पुलिसले शुक्रबार इलिमिनेटरमा बागमती युथ क्लबलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।

तस्बिरः एन्फा