बुटवल। लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले दोस्रो रिपोर्ट-कार्ड (वार्षिक प्रतिवेदन) सार्वजनिक गरेकी छिन्।
बालविवाह, मादक पदार्थ सेवनले निम्त्याएको घरेलु तथा महिला हिंसा, गरिबी निवारण लगायतका विषयलाई प्राथमिकता दिएर प्रदेश सभा बैठकमा आवाज उठाएको, नीतिगत र सामाजिक सशक्तीकरणका लागि योगदान पुगेको लगायतका विषयहरू समेटेर दोस्रो पटक प्रतिवेदन सार्वजनिक गरेकी हुन् ।
सांसद गिरीले २०७९ साल पौष १७ गते प्रदेश सभाको सदस्य पदको शपथ ग्रहण गरेपछि पहिलो वर्ष (२०७९ पौष १७ देखि २०८० पौष १७) सम्मका कामहरूको प्रतिवेदन सार्वजनिक गरेकी थिइन् ।
उनको दोस्रो वार्षिक प्रतिवेदनमा २०८० पौषदेखि २०८१ पौष महिनासम्मका गतिविधिहरू समेटिएको छ। लुम्बिनी प्रदेश सांसद गिरीले आफ्नो तवरबाट भएका उपलब्धिहरू र कामहरूको प्रतिवेदन सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।
उनको प्रतिवेदनमा राजनैतिक अधिकार, सुशासन तथा सेवा प्रवाह, महिला र बालबालिका, जनस्वास्थ्य सुरक्षा, शिक्षा, युवा तथा खेलकुद, रोजगारी र उद्यमशीलता, कृषि, पशुपालन र वातावरण जस्ता सवालहरूमा आफ्नो भूमिका र उठान गरेका विषय समेटेकी छन्। यस्तै प्रदेशको बजेट वितरणको सवाल र प्रदेशले बनाउने विभिन्न बिधियक माथि आफूले खेलेको भूमिका समेत प्रतिवेदनमा समेटिएकी छिन्।
जनप्रति प्रदेश सभाको ४० बैठक मध्ये २९ वटामा सहभागी भएको र ११ वटा बैठकमा सहभागी हुन नपाएको विवरण सार्वजनिक गरेकी हुन । अनुपस्थित हुनुको कारण समेत उनले खुलाएकी छिन्। भारत भ्रमण तथा आमाको उपचार र मृत्यु संस्कारको क्रममा सदनको बैठकमा उपस्थित हुन नसकेको विषय रिपोर्ट कार्डमा उल्लेख छ । उनले प्रत्येक वर्ष यस्तो कार्ड प्रस्तुत गर्ने जनाएकी छन्।