काठमाडौं। युएईमा भईरहेको यु १९ एसिया कपमा नेपालले अफगानिस्तानमाथि रोमान्चक जित हासिल गरेको छ ।
मंगलवार भएको एसिया कपको अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमान्चक जित हात पारेको हो । अफगानिस्तानले दिएको १ सय २४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन जोडे । उनले ५४ बलमा २ चौका प्रहार गरे ।
एक समय ८४ रनमा ८ विकेट गुमाएर हार नजिक पुगेको नेपालका लागि कप्तान हेमन्त धामीले ३३ बलमा नट आउट २२ रन बनाउँदै रोमान्चक जित दिलाए । उनले नवौं विकेटका लागि अभिषेक तिवारीसँग मिलेर ३१ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । अभिषेकले १३ बलमा १३ रन बनाए ।
त्यसअघि युएईको सारजाहमा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा अल आउट हुदै १ सय २३ रन जोड्यो।
अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । खातीर खानले २६ बलमा १५, अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।
नेपालका लागि युनिश बिक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए ।
यस जितसँगै नेपालले सान्त्वना जितका साथ प्रतियोगिता सकेको छ । अफगानिस्तानले भने शतप्रतिशत हारका साथ प्रतियोगिता सकेको छ ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो ।