काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले मंगलबार ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयरमा छनोट गरेको छ ।
हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा गरेको छनोट कार्यक्रमबाट छानिएका पाँच उत्कृष्ट खेलाडीमध्येबाट विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको हो ।
आइकोनिक खेलाडी बनेसँगै विपिनले अब नेपाल प्रिमियर लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्न पाउने छन् ।
कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनिष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको थियो । उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । बाँकी चार खेलाडीलाई पनि विशेष प्रशिक्षणको व्यवस्था गरिएको क्लबले बताएको छ ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई पनि टोलीमा अनुबन्ध गरेको थियो ।
३८ वर्षीय बायाँ हाते ओपनर धवनले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंंग्सबाट खेलेका छन् । उनले सन् २०१६ मा हैदराबादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् ।
त्यस्तै, वेष्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले कर्णालीबाट एनपिएल खेल्ने पक्का भइसकेको छ ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुँदैछ ।