काठमाडौँ। पोर्चुगलले यूईएफए नेसन्स लिगमा फराकिलो जित हासिल गरेको छ ।
शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ५-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न पनि सफल भएको छ ।
पोर्चुगलको जितमा ३९ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसैगरी राफाया लिओ, ब्रुनो फर्नान्डेस र पेड्रो नेटोले एक/एक गोल गरे । पोल्याण्डका डोमिनिक मार्क्जुकले सान्त्वना गोल फर्काए । सबै गोल दोस्रो हाफमै भएका थिए ।
पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल भने गर्न नसक्दा गोलरहित बराबरी भएको थियो ।
दोस्रो हाफको ५९औं मिनेटमा लिओले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ७२औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । पेनाल्टीमा रोनाल्डो चुकेनन् र टोलीको अग्रता दोब्बर पारे ।
त्यसपछि ब्रुनो फर्नान्डेसले उत्कृष्ट गोल गर्दै टोलीलाई ३-० ले अगाडि ल्याए । ८३औं मिनेटमा पेड्रोले गोल थपे भने ८७औं मिनेटमा रोनाल्डोले एक्रोब्याटिक गोल गर्दा पोर्चुगल ५-० को फराकिलो अग्रता बनाउन सफल भयो । त्यसको एक मिनेटपछि मार्क्जुकले सान्त्वना गोल फर्काए ।
५-१ को फराकिलो जित निकालेको पोर्चुगल लिग ए ग्रुप १ मा ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ । उसको क्वाटरफाइनलमा स्थान सुरक्षित भइसकेको छ ।
अन्य खेलहरूमा स्कटल्याण्डले क्रोएसियालाई १-० ले हरायो भने स्पेनले डेनमार्कमाथि २-१ को जित निकाल्यो ।