काठमाडौँ। नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फिर्ता भएको छ।
सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेर फर्किएको टोलीलाई काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारी र खेलप्रेमीहरूले भव्य स्वागत गरेका छन्।
युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।
एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो। त्यस्तै, यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ। एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ।
एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन्। नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ।