जुम्ला। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चर्चा बिदेशमासमेत चल्ने गरेको बताएका छन्।
प्रतिष्ठानका कुलपतीसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार प्रतिष्ठानको प्रथम दिक्षान्त समारोह तथा भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले केही महिना अगाडि आफू अमेरिका भ्रमणमा रहँदा यस प्रतिस्ठानको चर्चा चल्ने गरेको सुनाएका हुन्। ओलीले दुर्गम जिल्लामा रही स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रतिष्ठानले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए।
एमाले अध्यक्षसमेत रहेका ओलीले कर्णालीसहित सुदूरपश्चिमसहित १५ जिल्लाका जनतालाई प्रतिष्ठानले सेवा प्रवाह गरिहरहेको र दैलेखको राकममा प्रतिष्ठानको १ सय शैयाको अस्पताल निर्माणका लागि सरकारले प्रकिया अगाडि बढाएको जानकारी दिए।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपतीसमेत रहेका प्रदिप पौडेलले प्रतिष्ठानको पहिलो सिनेट बैठकले शिक्षक तथा कर्मचारिको सेवा स्तरवृद्धिलगायतका महत्वपूर्ण माग सम्बोधन गरिएको बताए। पौडेलले भने, ‘प्रतिष्ठानको सभाहलमा १०औँ सिनेट बैठक बसेर कर्मचारिको निम्ति महत्वपूर्ण कार्य हामीले गरेका छौँ।’
प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले प्रथम ऐतिहासिक दिक्षान्त समारोह सफल भएकोमा खुशी व्यक्त गरे। डा.रावलले स्रोत साधनको अभाव झेल्दै र चुनौतीलाई सामना गर्दै प्रतिष्ठान अगाडि बढिरहेको बताए।
रावलले प्रतिष्ठानको भवन निर्माण अलपत्र परेको हुँदा प्रयाप्त स्रोत व्यवस्थापन गरिदिन प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँगग अग्रह गरेका छन्। समारोहमा स्वागत मन्तव्य राखेका रावलले प्रतिष्ठानले कोभिड वारियरको रुपमा खडा भएर उत्कृष्ट कार्य गरेकोदेखि कर्णाली र सुदूरपश्चिमका गरि १५ जिल्लामा सेवा दिइरहेको प्रतिष्ठानको ऐतिहासिक दिक्षान्त समारोह सफल भएकोमा सबैलाइ धन्यवाद दिए।
प्रथम दिक्षान्त समारोहमा विभिन्न बिधाका कुल ५८ जना दिक्षित भएका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीले शैक्षिक भवनको उद्धाटन गरेका छन्। कार्यक्रमको सहजिकरण प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले गरेका थिए।