एमालेलाई अदालतको धक्का: दानको जग्गा हक हस्तान्तरण अन्तरिम आदेश



काठमाडौँ। सर्वोच्च अदालतले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ।

अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालयलाई दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले आदेशको लिखित रुप प्राप्त भइनसकेको बताए।

सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन माग गरेको छ। गत दशैंको फुलपातीको दिन कलंकीमा एमाले पार्टी कार्यालयको शिलान्यास भएको थियो, त्यहाँ उपस्थित व्यवसायी मीनबहादुर गुरुङले आफूले एमालेलाई जग्गा दान दिएको र एक वर्षभित्र भवन पनि बनाइदिने घोषणा गरेका थिए।

यो घटना सार्वजनिक भएपछि एमालेको आलोचना भएको थियो। अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत ३ जनाले निर्णय खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।