‘मेरी बाली दै’ गीत चोरी आरोपमा विवादित (भिडियोसहित)



सुर्खेत। राजनीतिमा भ्रष्टचार, कलाकारितामा रचना चोरी पछिल्लो समय फेशन जस्तै बनेको छ।

नेपाली गीत संगित क्षेत्रमा अनेकौं चुनौतीका पहाड छन्। विकृति र विसंगतिका कुराहरु उत्तिकै छन्। नेपाली संस्कृतिको रक्षा, विकास र संरक्षण जस्तो महान अभिभारा बोकेका कलाकारहरु भाइरल हुने नाममा अनेकौं फण्डा गरिरहेको देखिन्छ।

केही वर्ष पहिले प्रकाश सपुत रचना चोरीको आरोपमा विवादित बनेका थिए। यस्ता अनेकौं पात्रहरु रचना चोरीको आरोप खेपिरहेका छन्। यसै क्रममा पछिल्लो समय कलाकार मोडल वर्षा भण्डाराको प्रस्तुती र लगानीमा बनेको मेरी बाली दै बोलको गीतले एक हप्ता काट्न नपाउदै दुरुस्तै अर्को गीत बजारमा आएको छ। धर्म बहादुर शाहीको प्रस्तुतीमा दुरुस्तै अर्को गीत बजारमा आएको भन्दै कलाकार वर्षा भण्डाराले सामाजिक सञ्जालमार्फत सचेतसमेत गराएकी छन्।

उनले लेखेकी छन्, ‘कर्णालीको लोक भाका ‘मेरी बाली दै’ एक वर्ष अगाडी रेकर्ड भई भरखर मात्रै कालिकोटको छाप्रेमा छायांकन गरि भिडियोमा अपलोड भएको आज १३ दिन भयो। मेरो अफिसियल च्यानलबाट प्रसारण भए लगत्तै मेरो गीत ‘मेरी बाली दै’ युट्युवबाट प्रसारण भएको थाहा पाउँदा पाउँदै सोही लय र थेगोबाट हाम्रै कालिकोटका केही कलाकारहरुले म्युजिक भिडियो र लाईभ दोहोरीमार्फत प्रसारणसमेत गरेकाले दुषित मनसायका साथ मेरो गीतलाई ओझेल पार्नका लागि यी हर्कतहरु भैरहेका देखिन्छन्। न मलाई सोधेर सल्लाह नै नगरी युट्युवमा अपलोड भएका ती गीतहरु आजको मिति देखि ७ दिनभित्र जो जसका च्यानलमा राखिएका छन् सो च्यानलबाट न हटाईएमा म सो गीतहरुलाई कपिराईट हान्नुका साथै कानुनी प्रक्रियाको बाटोमा जान बाध्य हुनेछु।’

नेत्रराज शाही मौसमको शब्द रचना र नन्दरुप शाहीको संगीत भनेर बजारमा ल्याइएको गीतका सर्जक, गायक कसैपनि उचित जवाफ नदिएको कलाकार वर्षा भण्डाराको भनाई छ। उनले दिएको सात दिनको मिति करिब सकिएको छ। सामान्यतया माफी मागेर सामाजिक सञ्जालमार्फत गीत नहटाए कानूनी उपचारमा जाने भण्डाराको भनाई छ। चित्र सिंह गाउँले र वर्षा भण्डाराको संयुक्त शब्द चरना रहेको गीतमा धर्मराज न्यौपाने र लक्ष्मी आचार्यको स्वर रहेको छ।

भिडियो हेर्नुहोस्