मधेशमाथि कर्णालीको सानदार जित



काठमाडौं। कर्णाली यसभिसले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा मधेश युनाइटेडमाथि जित हासिल गरेको छ।

कर्णालीले सोमबार दोस्रो खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो। पहिलो सेट २५-१५, दोस्रो सेट २५-२० जितेको कर्णालीले अन्तिममा निरन्तर अंक गुमाउँदा तेस्रो सेट गुमायो। एक समय २४-१९ मा रहेर सहज जित तर्फ उन्मुख कर्णालीले निरन्तर अंक गुमाउँदा २६-२८ ले सेट गुमाउँन पुग्यो।

कर्णालीले चौथो सेटमा भने २५-११ को सेटमा सहज रुपले जित निकाल्दै खेल जित्यो। कर्णालीले आफ्नो दोस्रो खेलमा मंगलबार गन्डकी थन्डर्ससँग खेल्नेछ। उता, मधेशले दोस्रो खेलमा मंगलबार नै ललितपुर क्विन्सको सामना गर्नेछ।

आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ सेटको जित हात पारेको थियो। पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट भने २१-२५ ले गुमाउन पुगेको थियो।

त्यसपछिका दुई सेट २५-२१ र २५-१९ ले आफ्नो पक्षमा पारेको ललितपुर पहिलो खेलमा नै पूरा ३ अंक जोड्न सफल भयो । तेस्रो सेटमा काठमाडौं र ललितपुर दुवैतर्फ खेलाडी घाइते हुँदा समस्या भएको थियो। काठमाडौंकी लिबेरो रश्मीता दुरा घाइते भएपछि कोपिला रानाले चौथो सेट लिबेरोमा खेलिन् ।

ललितपरुकी थाई स्पाइकर सुत्दाता पनि घाइते भएपछि खेल्न सकिनन्। ६ टोलीले एकअर्काको सामना गरेपछि अंकतालिकाका शीर्ष दुई टोलीले असोज १९ गते फाइनल खेल्नेछन्।