काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको छ।
यसअघि १६औँ स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७औँ स्थानमा छ। आईसीसी विश्वकप लिग २ मा यसै साता क्यानडामा तीन खेल हारेपछि नेपालको वरीयता खस्किएको हो।
नामिबिया तीन स्थान तल झरेर १८औँ स्थानमा पुगेकोछ। ओमान पनि एक स्थान तल झर्दै १९औँ स्थानमा छ। युएई ओडीआई टोलीको वरीयतामा सबैभन्दा पुछार २०औँ स्थानमा छ ।
अमेरिका एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ। क्यानडाले चार स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ। स्कटल्यान्ड ११ औं, आयरल्यान्ड १२ औं, जिम्बावे १३ औं र नेदरल्यान्ड्स १४ औं स्थानमा यथावत छन्।
भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, दक्षिण अफ्रिका तेस्रो, पाकिस्तान चौथो, न्युजिल्यान्ड पाँचौं, श्रीलंका छैटौं, इंग्ल्यान्ड सातौं, बंगलादेश आठौं, अफगानिस्तान नवौं र वेस्ट इण्डिज दशौं स्थानमा छन् ।