दाङ। नेपाली कांग्रेसकी युवा नेता तथा लुम्बिनी प्रदेशसभाकी सचेतक नीमा गिरीले राजनीतिक अपमान खप्न नसकेर पदबाट राजीनामा दिएकी छन्।
समय अभाव र व्यक्तिगत कारण देखाएर राजीनामा दिएको बताइएपनि उनले पार्टीका नेताहरूको गलत राजनीतिक अपमान र रबैयाका कारण पदबाट राजीनामा दिएको पाइएको छ।
नेता गिरी निटक मानिने एक नेताकाअनुसार उनले समय दिन नसकेको नभएर पार्टीभित्रको आन्तरिक राजनीतिक विवाद जिम्मेवार रहेको छ।
गिरी २०७९ साल चैत २९ गते सचेतक बनेकी गिरीले करिब १८ महिना सचेतकको जिम्मेवारी निर्वाह गरेकी छन् । उक्त समय अवधिभर गिरीले समावेशीताको आवाज मुखरित गरेकी थिइन ।
गत आइतबार (३१ भदौ २०८१) महिला सांसदसहित संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई भेटेर सरकारमा कांग्रेसबाट एक जना महिला मन्त्री बनाउन आग्रह गरेकी थिइन् ।
नेता गिरी निटक मानिने एक नेताले भने, ‘उहाँ (नीमा) पार्टी, संसद तथा सरकारमा समावेशीताको सिद्धान्त अनुसार महिला सहभागिता अनिवार्य गरिनुुपर्छ भनेर आवाज उठाउँदै आउनुभएको थियो। तर, पार्टीबाट त्यसको सुनुवाइ भएन । अन्ततः उहाँको राजीनामाले कांग्रेसभित्र थप विवाद बढाएको छ।’
स्रोताकाअनुसार संसदीय दलका नेता चौधरीले गिरीको सचेतकको भूमिकामाथि अकंश लगाउने काम गरेको पाइएको छ। मुख्य सचेतकले राजीनामा दिएपछि गिरीको भूमिकामाथि चौधरीले अनावश्यक हस्तक्षेप गरेको भेटिएको छ। प्यूठानबाट समानुपातिक सांसद बनेकी गिरी पार्टीमा इतर समूहमा रहेकाले संसदीय दलका नेता चौधरीले पटकपटक असहयोग गर्दै आइरहेका छन् ।
ति नेता भन्छन्, ‘डिल्ली चौधरीले नीमाजिलाई अपमान गर्न लागेको यो पहिलो घटना होइन। प्युठान कारागारमा गिरीको व्यक्तिगत पहलमा जम्मा भएको पुस्तक राखी पुस्तकालय स्थापना गर्ने काम भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा आउछु भनी त्यति बेलाका मुख्यमन्त्री चौधरीले समय निश्चित गरे । तर, उक्तदिन साँझ फोन सम्पर्क बिहिन भएर बसेका थिए। आफ्नै सचेतकले आयोजना गरेको कार्यक्रम ढाट्दा पनि गिरीले निरन्तर सदनमा प्रभावकारी भूूमिका निभाउँदै आउनु भएको थियो।’
नेता गिरीलाई के कारणले सचेतको भूूमिकाबाट राजीनामा दिनुभएको हो नि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘म मन्त्री बन्न नपाएर राजीनामा दिएको होइन। मेरो समय नमिलेर हो, संसदीय दलका नेतासँगको डेलिगेशन मेरो लागि भन्दा पनि ९ जना महिला सांसद मध्येबाट मन्त्री बनाउनुपर्ने भन्ने हो, म सधैं समावेशी सहभागिताको बहस गर्ने व्यक्ति हुँ। पार्टीमा पदिय जिम्मेवारी र अवसर एकै व्यक्तिमा निहित हुनुुहुन्न। सबैले अवसर पाउनुपर्छ भन्ने मान्यता राख्छु।’
गिरीले पार्टीभित्रको विवादलाई सहतमा ल्याउन नचाहेको उनको भनाईबाट थाहा हुन्छ । गिरीले पार्टीभित्रबाटै असहयोग, अपमान खेप्न नसकेरै राजीनामा दिएको स्रोत बताउछ ।
तर, नेपाली कांग्रेस लुम्बिनीको विवाद यतिसम्म कि मन्त्री बनेकाहरूले पनि राजीनामा दिनुपर्ने अवस्था आएको छ। स्रोतकाअनुसार प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका थिए। प्रमुख सचेतकले राजीनामा दिइसकेपछि स्वतः संसदीय काम कारबाहीको अधिकार सचेतकले पाउनुुपर्ने कानूनी व्यवस्था छ । तर, गत भदौ ४ गते डिल्ली चौधरीले सचेतक गिरीलाई अपमान हुनेगरी माननीयबाट ह्ीप लगाउने अधिकार दिएका थिए ।
उनी तीन महिना अमेरिका भ्रमणमा रहँदा सचेतक गिरीले संसदमा प्रभावकारी भूमिका खेलेको गिरी निकट नेताको भनाई छ । त्यतिमात्रै होइन, संसदीय दलका नेता चौधरीले आफ्ना स्वकीयमार्फत संसदमा बोल्ने माननीयहरूको नामसमेत टिपाउन लगाएको पाइएको छ। सचेतकको अपमान हुनेगरी यस्ता तमाम गैरलोकतान्त्रिक, गैरसंसदीय कार्यहरू निरन्तर रूपमा खप्दै आएकी गिरीले अन्ततः राजीनामा दिन बाध्य बनेकी छन् ।
गिरीले तीन विषयमा स्नाकोत्तर गरेकी छन्। साथै उनले एक वर्ष अमेरिकी कोर्श र एक महिने कानुनमा बेलायती कोर्श गरेकी छन्।
नोटः संसदीय दलका नेता चौधरीलाई यस विषयका सन्दर्भमा सोध्न खोज्दा फोन उठेन। साथै हामीले प्राप्त गरेका तथ्य प्रमाणका आधारमा चौधरीको वाइट राख्न आवश्यकसमेत ठानेनौँ।