आज संविधान दिवस



काठमाडौँ। आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत सहभागी हुँदैछन्।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ। नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ। आजै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पनि एक कार्यक्रम आयोजना गर्नु भएको छ।

साँझ भने दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना हुँदैछ । ‘नेशनल डे कन्सर्ट’ नाममा हुन लागेको सांगीतिक कार्यक्रमका लागि हिजोदेखि नै दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ।

संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ। शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ।

सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ। आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ।