काठमाडौँ। नेपाल पुलिस क्लबले माल्दिभ्समा आजबाट सुरु काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५-१९, २७-२५ र २५-१९ ले जितेको हो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो ।
च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ।
सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काभा नेसन्स लिगको रजत पदक विजेता टोली थिए । त्यस्तै पुलिसमा गत महिना नै भुटानमा भएको काभा बीच भलिबलमा स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरी पनि छन् ।
लिगको दोस्रो खेलमा पुलिसले सोमवार श्रीलंकाको पुलिस क्लबको सामना गर्दा तेस्रो खेलमा मंगलबार ताजकिस्तानको क्लबको सामना गर्दैछ । चौथो तथा समूह चरणको अन्तिम खेलमा बिहीवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।