काठमाडौँ। सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भोलि (सोमबार) राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो। बजेट अधिवेशनको रुपमा लिइने चालू वर्षे अधिवेशनमा बजेटका अलावा केही विधेयकहरू पारित समेत पारित भएका छन्।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक) चालू अधिवेशनले नै पास गरेको हो ।
बजेट र बजेट आश्रित विधेयकबाहेक लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि चालू अधिवेशनबाटै पास भएको हो । जो प्रमाणीकरण भएर लागू भइसकेको छ ।