काठमाडौँ। नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत पदाधिकारी चयन गरेको छ।
यद्यपि, पदाधिकारी चयनका लागि भएको निर्वाचनले पार्टीभित्रको गुटबन्दी छताछुल्ल बनाएको नेताहरू बताउँछन्। एकीकृत समाजवादीको गत असार १६–२० गते काठमाडौँमा आयोजना गरेको दशौँ महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।
त्यसबाहेक अन्य पदाधिकारी सहमतिमा टुङ्ग्याउने पटकपटक प्रयास भए पनि सहमति नजुटेपछि मंगलबार चुनाव भएको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चुनिए भने अरू पदमा मतदान भएको थियो ।
चर्चित नेतृ रामकुमारी झाँक्री महिला उपाध्यक्षमा पराजित भइन् । उनलाई जयन्तीदेवी राईले पराजित गरेकी हुन् । राई यसअघि पनि उपाध्यक्ष नै थिइन् । खुला उपाध्यक्षमा जगन्नाथ खतिवडा, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् भने मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह निर्वाचित भएका छन् ।
खुला उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई र मेटमणि चौधरी निर्वाचित भएका छन् । दलिततर्फ सचिवमा गणेश बिक, आदिवासी जनजातितर्फ बलदेव चौधरी तथा खुलातर्फ श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
डा.विजयकुमार पौडेल, विरोध खतिवडा, उर्वादत्त पन्त, रामचन्द्र झा, डा.वंशीधर मिश्र, डा.राजेन्द्रमान श्रेष्ठ, राजन राई, धनराज आचार्य, दिलकुमार पन्तजस्ता चर्चित नेताहरू पराजित भएका छन् ।
यो चुनावपछि पार्टीभित्र झन् असन्तुष्टि बढेको छ । ९७ मत ल्याएर उपमहासचिवमा पराजित भएका जीनवराम श्रेष्ठले कार्यालय सचिव पदबाट राजीनामा दिएका छन् । अन्य नेताहरू पनि असन्तुष्टि व्यक्त गरिरहेका छन् । उपाध्यक्षमा चुनाव हारेका एक नेताले भने, ‘पार्टीका जिम्मेवार व्यक्तिले गुटबन्दी गर्न थालेपछि आउने नतिजा नै यस्तै हो, योभन्दा राम्रो नतिजा आउँछ भनेर हामीले कल्पना गरेका थिएनौँ । पार्टीको चुनाव पालिकाको चुनावजस्तै देखिएको थियो ।’
पार्टीका जिम्मेवार नेताहरूले मतदातालाई फलानोलाई मत दिनु, फलानो नदिनु भनेपछि त्यो चुनाव कस्तो हुन्छ भन्दै उनले प्रश्न गरे । ‘यति बुझ्नुस् न, जसको हातमा डाडुपन्यु थियो, त्यसले पार्टीको मत आफ्नो पक्षमा पारे,’ उनले भने ।
आफ्नो गुटको व्यक्तिलाई पदाधिकारीमा ल्याउने तयारी आजको होइन । २०८० पुसमा भएको विधान संशोधनदेखि नै यो षड्यन्त्र भएको एक नेताले बताए । ती नेताले भने, ‘पहिला तल्लो तहदेखि अधिवेशनबाट प्रतिनिधि चयन हुँदै महाधिवेशनसम्म आउनु पर्ने प्रावधान थियो । महाधिवेशन प्रतिनिधिले केन्द्रीय कमिटी चयन गर्ने प्रावधान विधानमा थियो तर त्यसलाई परिवर्तन गरेर महाधिवेशनबाट मनोनीत गर्ने प्रावधान ल्याइयो । त्यहीँबाट यो धाँधली सुरु भएको हो ।’
केन्द्रीय समिति चयन गर्ने काम अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, र महासचिव घनश्याम भुसालले गरेका हुन् । उनीहरूले अरु दुईचार जनासँग सहयोग लिएको भन्दै असन्तुष्ट पक्षले शीर्ष नेताले ज–जसलाई केन्द्रीय सदस्य बनाउन चाहे, तिनैलाई बनाइएको आरोप लगाएको छ ।
महाधिवेशनले सम्मानित नेता झलनाथ खनाल, अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो । त्यसपछि उनीहरूले ९३ जना केन्द्रीय सदस्य घोषणा गरेका थिए । साउन १८ गते बसेको केन्द्रीय समितिको बैठकले ३४४ जनाको केन्द्रीय समिति घोषणा गरेको थियो ।
३४४ जना केन्द्रीय सदस्य दुईचार जनले मनोनीत गरेका छन् । अहिले त्यही दुईचार जनाले ज–जसलाई मत हाल्न भने, उनैलाई मत दिने अवस्था सिर्जना गरी यस्तो परिणाम आएको कतिपय नेताको गुनासो छ । उम्मेदवार चरम गुटबन्दीको सिकार भएको गुनासो ती नेताले गरे ।
मधेसी कोटाबाट उपाध्यक्षमा चुनाव हारेका रामचन्द्र झा भन्छन्, ‘लोकतन्त्रमा चुनावको निकै महत्त्व हुन्छ । त्यसले दिने परिणामलाई स्वीकार गर्नैपर्छ । कसले कसरी चुनाव जिते, त्यो कुराले अब महत्त्व राख्दैन ।’
चुनावको परिणामलाई आफूले स्वीकार गरेको बताउँदै उनले सबै निर्वाचित पदाधिकारीलाई बधाइ पनि दिए । स्रोतकाअनुसार मंगलबार भएको चुनावमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको तर्फबाट गोप्य रूपमा केन्द्रीय सदस्यहरूलाई अलगअलग चिट वितरण गरिएको थियो । मतदाताहरू दुई गुटमा बाँडिएका थिए । स्रोत भन्छ, ‘घनश्याम भुसाललाई झलनाथ खनालको पनि साथ थियो ।’
चयन भएका १७ पदाधिकारीमा अधिकांश माधव गुटका छन् । एक नेताले भने, ‘१७ जना पदाधिकारीमध्ये १० जना त माधवले आफ्ना गुटका जिताउनु भएको छ ।’
तर नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले चुनाव हारेपछि विभिन्न आरोप लगाउनु आम कुरा भइसकेको बताए । ‘चुनावमा कुनै गुटबन्दी, कुनै चिट वितरण भएको छैन,’ उनले भने, ‘जसले यो आरोप लगाएका छन्, त्यो गलत हो । लोकतान्त्रिक प्रक्रियाबाट चुनाव भएको छ ।’ चुनावमा हारजित सामान्य कुरा भएको उनले प्रस्ट पारे । त्यसैलाई मुद्दा बनाएर रोष प्रकट गर्न नहुने उनले बताए ।