काठमाडौँ। भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छिन्।
सोमबार साँझ हैदरावाद हाउसमा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब आधा घन्टा छलफल भएको बताइएको छ। भेटका क्रममा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि दिएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी छिन्। नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत पनि प्रधानमन्त्री ओलीले मोदीलाई निम्ता पठाएका थिए।
भेटका क्रममा द्विपक्षीय हितका विविध पक्षमा नेपाल–भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुरा भएको बताइएको छ। भेटमा भारतका तर्फबाट भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभललगायत सहभागी थिए भने नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, कार्यवहाक राजदूत डा. सुरेन्द्र थापालगायत सहभागी थिए।
परराष्ट्रमन्त्री राणाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन्। उनीहरूबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ।
भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा मन्त्री राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी हुन्। परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। भ्रमण र उपचार सकेर राणा यही ६ भदौमा स्वदेश फर्कनेछिन्।