साउन महिनालाई नियालेर हेरियो । धार्मिक महिनाको परिचय बोकेको साउनलाई विचारधारात्मक नजरले हेर्दा कस्तो देखिन्छ ? भन्ने कौतुहल्ता यस स्तम्भमा मेट्ने प्रयास गरिने छ । पूर्वीय समाजका सबै पक्ष राम्रा छैनन् । राम्रा र आवश्यक प्रथा, परम्परालाई निरन्तरता दिदै अनावश्यक, अन्धविश्वासलाई हटाउँदै आजको समयमा बाँच्नका निम्ति आम दुनियाँलाई अनुरोध गर्नुपर्छ/गरिन्छ । धार्मिक आस्थामा विश्वास राख्नेहरूका निम्ति कुनै प्रतिक्रिया नदिएर यस लेखमा कमरेडहरूका अस्वभाविक लाग्ने केही दृश्यमाथि सामान्य मन्थन गरिनेछ ।
विषय प्रवेश:
कम्युनिस्टहरू आफूलाई माक्र्सवादका असली अनुयायी ठान्छन् । गौरवशाली कम्युनिस्ट पार्टीको नेता कार्यकर्ता भन्छन् । तर, हाम्रो देशका अधिकांश कम्युनिस्ट नेता कार्यकर्ताहरूले बोकेका विचार र देखिने आचरणहरूबीच कुनै मिल्ति देखिदैन । यीनिहरूले बोकेको विचार र व्यवहारबीच छेउटुप्पो मिल्दैन । भाषण र लिखितमा आफूभन्दा असल कम्युनिस्ट कोही छैनसम्म भन्छन् । यहि हो बडो दुःखको कुरा ।
यसरी हेर्दा माक्र्सवाद पढाउनेहरू नै ठूलो दुविधामा देखिन्छन् । दुनियाँ बदल्ने कुरा गर्छन् । माक्र्सवाद दुनियाँ बदल्ने भौतिक विज्ञान हो । यसमा कुनै शंका छैन । शंका त्यहाँ छ, जसले यस विचारको नेतृत्व गरिरहेका छन् । जसका विचारसँग व्यवहार मिल्दैन । तिनिहरूका आचरण, व्यवहार, जीवनशैली कुनै सामन्तको भन्दा कम छैन । चेतनासमेत तहगत रूपमा विभाजित छ । जसको चेतना नै यति विभेदकारी छ, उसैले समाजवादका गीत गाउछ । अनि जनताले कसरी पत्याउछन् । चुनावमा कसरी भोट दिन्छन् ।
‘साधा जीवन, उच्च विचार’ कम्युनिस्टहरूको वैचारिक आचरण हो । आज विचार शून्य, सिद्धान्त भुत्ते र व्यवहार चौपट बनेकाहरूले माक्र्सवादी समाजवादका गफ हाकिरहेको देख्दा दुनियाँ हाँसिरहेका छन् । आजका अधिकांश कम्युनिस्टहरू मुखले एउटा कुरा भन्ने व्यवहारमा अर्कै गर्ने खालका छन् । यस्ता दोग्ला कम्युनिस्टहरूले देश र जनताको भलाई गर्नुको साटो आफ्नो र आफ्नाहरूको भलाईमा केन्द्रित छन् ।
आफूलाई भौतिकवादी हौँ भन्छन् । राता मान्छेहरू हौँ भन्छन् । राता किताबहरू पढेको जस्तो पनि गर्छन् । तर, साउन महिनाभरी शिवालयहरूमा कमरेडहरूको भीड थामिसक्नु छैन । पहिले पहिले त के गर्थे थाहा भएन, आज आएर प्राविधिले दुनियाँमा कसले के गरिरहेको छ भनेर सहजै जान्न सक्ने बनाएको छ । साउनको पहिलोदेखि अन्तिम सोमबारीय व्रतमा महिला कमरेडहरू मात्रै होइन, पुरूष कमरेडहरूको उत्तिकै भीड देख्न पाइयो । यति भन्दैमा कुनै धर्म, आस्था र सप्रदायको विरोध गरिएको होइन । व्यक्तिगत स्वतन्त्रताको विरोध त झनै होइन । केवल नेपाली कम्युनिस्ट आन्दोलनको बाँकी कार्यभार र बाँकी बिडो थाम्ने ठेकेदार सम्झिरहेका प्रिय कमरेडहरूले माक्र्सवादी विचारलाई लात हानिरहेको नग्नतालाई कुरीकुरी भनेको हो ।
विचार शून्य र चेतना भुत्ते बनाउन खोज्ने नक्क्ली र आवरणधारी कम्युनिस्ट भनाउदाहरूको विरोध हो । कोटी होममा नेतादेखि कार्यकर्ताहरूको बाक्लो उपस्थितिको पनि विरोध होइन । यो त विचार र सिद्धान्तबीचको मेल खोजिएकोमा विरोध हो । र, यत्ति लेख्न बाध्य भइएको हो कि जनताले पनि असली कम्युनिस्ट र नक्कली कम्युनिस्ट को हुन् थाहा पाउन । असली कम्युनिस्टहरूले भौतिकवादलाई मान्छन् । दुनियाँलाई बदल्ने कोसिस गर्छन् । विचारको उत्पादन र पुनरोत्पादनमा सक्रिय बनाइरहेका हुन्छन् । वैज्ञानिक र व्यवहारिक ढंगले देश र जनताका सुख, दुःखलाई दुर बनाउने प्रयास गरिरहेका हुन्छन् । नक्कली कुरा गर्दैनन् । झुट बोल्दैनन् । दलाली, कमिसन, कालोबजारी, दलाल पूँजीवादको विरोध गर्छन् । पार्टी, संगठनलाई नीति, विधिमा चल्नुपर्छ भन्छन् । देशमा कानूनी सर्वोच्चता कायम राख्न खोज्छन् । तर, नक्कली कम्युनिस्टहरू सद्भावी बन्छन् । होमा हो मिलाउन खोज्छन् । झुट बोल्छन् । गल्ति स्वीकार गर्दैनन् । मुलतः शिवालयमा लाईन लागेर भाग्यवादप्रति भरोसा गर्छन् । यस्ता दोग्लाहरूबाट दुनियाँ सचेत बन्नुपर्छ ।
समाज परिवर्तनको बाहकका रूपमा आफूलाई परिभाषित गर्ने कमरेडहरू नै यसरी माक्र्सवादको विपरित हिडेको देखेर लाजसमेत लजाउने बेला भइसक्यो । यस लेखले शिवालयमा लामवद्ध हुनु भएका नेता कार्यकर्ता कमरेडहरूको व्यक्तिगत स्वतन्त्रता हनन् भएको महसुस भए वहस गर्न सकिन्छ । तर, विचार एउटा, व्यवहार अर्को गर्ने दोग्ला चरित्रले समाजवाद आउँदैन भन्ने सत्यलाई मिचेको टुलुटुल हेरेर बस्न सकिँदैन ।
कि त माक्र्सवाद छोड, कि मूर्ति पूजा छोड । मान्छे हुँ भन्नेले यी मध्ये एउटा छोड । तर यसरी दोग्ला जिन्दगी नबाँच । यसरी दुविधामा बाँच्न मज्जा आउँदैन । दुनियाँलाई ढाटेर कसरी बाँच्ने ? कम्युनिस्टहरूको पहिलो र साँचो आचरण भनेकै भौतिकवाद हो । जो भौतिकवादमा विश्वास नगरिकन अन्य कतै भर गर्छ भने त्यो कम्युनिस्ट होइन ।
भाग्यवादका भाषण
शिवालयमा भिडमात्र होइन, देशदेखि विदेशसम्म कोटीहोमदेखि महायज्ञसम्म सद्भावी बन्ने नाममा गरिएका नग्न भाग्यवादका भाषण कम्ता आलोच्य छैनन् । मुलतः नेतृत्व नै विचारमा स्खलीत, च्युत भएपछि सामान्य कार्यकर्ताहरूको हविगत के हुन्छ ? यो सवालमाथि थप बहस गर्नु अनावश्यक हुन्छ । पछिल्लो पुस्ताका नेता कार्यकर्तासँग नालायकी, कमजोरी, भ्रष्ट, लोभि, पापी, नातावादी, पक्षपाती, गुट र फुटवादी क्रियाकलापका विरूद्ध बोल्नुपर्छ भन्ने चेतना छैन । उल्टै चम्चागिरी गर्ने, नेताका कमजोरी लुकाएर होमा हो मिलाउने, व्यक्तिगत रोटी सेक्न काममा तत्ललित युवा पुस्ताको भुत्तेचेतले कम्युनिस्ट आन्दोलनलाई सिर्जनात्मक, रचनात्मक र नविन ढंगले विश्लेषण, संश्लेषण गर्न सक्ला ? यो गम्भीर सवाल हो । कम्युनिस्ट कार्यकर्ता बन्ने पहिलो सर्त नै भौतिकवाद हो । भौतिकवादी नबनि अन्य आचरणको बारेमा सोच्नसम्म सकिदैन ।
कार्ल माक्र्सले तत्कालिन समयमा हेगलको द्वन्द्ववाद टाउलेको उभिएको र त्यसको सार खोज्ने हो भने त्यसलाई गोडाले उभ्याउनु पर्छ भनेर त्यसै भनेका थिएनन् । मानव दुनियाँ टाउकोले टेकेर हिडिरहेको थियो । यो त उल्टो पो भयो भन्ने निश्कर्ष निकालेपछि माक्र्सले मानवले खुट्टाले हिड्नुपर्छ भन्ने भौतिकवादी विचार दिएका थिए । आज त्यही भौतिकवादी विचार बोकेकाहरू भाग्यवाद, धर्म, देउता, भगवानको भरोशा गर्ने समाजसँग सद्भावि बन्ने नाममा टाउकाले नै टेकेर हिडाँै न त भन्नेमा पुगेको देखिन्छ । यो कम्युनिस्ट आन्दोलनका निम्ति दुःखद कुरा हो ।
जन्मोत्सवको दैनिकी
भाग्यवाद, रामनाम, कर्मकाण्ड, धुपवत्ती, सोमबारीय व्रत, शिवालयमा भीड आदीमा मात्रै कमरेडहरूको आशक्ति जन्मदिन मनाउने मामला पनि कम छैन । कम्युनिस्ट विचारधाराले अस्विकार गरेको जन्मोत्सव मनाउने, फेशबुकमा फोटो राख्ने काम कम्युनिस्ट नेता कार्यकर्ताहरूको दैनिकी जस्तै बनेको देखिन्छ ।स्मरण होस्, माक्र्सवादलाई नवीन र सिर्जनात्मक रूपमा विकास गर्ने लेनिन, रोजा र माओ हुन् । माओले ‘पाटीर्मा पूँजीवादी विचारहरूको विरोध गर’ भन्ने लेखमा माओका संकलित रचनाहरू, भाग ५, पृ.१११) आठ वटा नियम उल्लेख गरेका थिए । उक्त लेखलाई चिनियाँ कम्युनिस्ट पार्टीको सातौं केन्द्रीय समितिको दोस्रो विस्तारित बैठकले पारित गरेको थियो । जसमध्ये पहिलो नम्बरमा जन्मोत्सवमाथि प्रतिबन्ध थियो । जसअनुसार जन्मदिन मनाउने प्रचलन नै सामान्तवादी हुँदै पूँजीवादीहरूले अंगिकार गरेको विभेदकारी परम्परा हो । यो सामान्य गरिब, विपन्न, मजदुर, श्रमिक जनता, पीछडा वर्ग, समुदाय र महिलाहरूको निम्ति वर्जित थियो । यो परम्परा कम्युनिस्टहरूको होइन भन्ने माओको भनाई थियो ।
अन्यलाई केही हदसम्म ठिक्कै भन्न सकिएला तर, माओवादलाई मार्गदर्शक सिद्धान्त मानिरहेको माओवादी केन्द्रका नेता कार्यकर्ताहरू यस मामलामा निक्कै अगाडि देखिन्छन् । यतिसम्मकी जन्मदिनको दिनमा होटेल बुक गरेर जाड पार्टीको आयोजना गरेकोसम्म यी आँखाले देख्नु परेको छ । कुनै कृति, किम्वदन्ति वा कथाका पात्रको पूजा गर्दा आफूमा पनि उनीहरूकै जस्तो क्षमता आओस् भन्नु जस्तो अज्ञानता अरू केही हुन्छ रु हुँदैन । आफू कस्तो बन्ने रु त्यो आफूमा र वातावरणमा भरपर्छ । जन्मोत्सव मनाउँदैमा दीर्घजीवन हुन्छ रु यो अर्को भ्रम हो ।
अन्त्यमा, नेपालमा को असली कम्युनिष्ट हो, को नक्कली रु भन्ने सवाल गम्भीर रूपमा खडा भएको छ । कम्युनिष्ट झण्डा राखेर खोलिएका दर्जनौ पसलहरू छन् । यो छिन्नभिन्न अवस्था कम्युनिष्ट आन्दोलनका निम्ति दुस्खद कुरा हो । दुनियाँमै कम्युनिष्ट जती समाजवादी, पवित्र अरू कुनै मानिस हुँदैन भन्ने तर, आर्थिक नजरमा भ्रष्ट, राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपमा नग्न, धार्मिक रूपमा सद्भावी, साँस्कृतिक रूपमा स्खलित र सामाजिक रूपमा दलाल, चोरको परिभाषा बन्नुलाई नेपाली कम्युनिष्ट नेतृत्वले कसरी लिन्छ रु नेता कार्यकर्ताहरूले आजको यो गम्भीर अवस्थाको कसरी समिक्षा गर्छन् रु
हरेक कम्युनिष्ट पार्टीभित्र मौलाइरहेको साँस्कृतिक विचलन, वैचारिक स्खलन, आर्थिक अपारदर्शीता, नैतिकहिन राजनीति, नातावाद, गुटवाद, फुटवाद, सामुहिकताको चिररहण जस्ता गम्भीर विषयहरू नयाँ पुस्ताका कम्युनिष्टका निम्ति चुनौती हुन् । दोस्रो र तेस्रो पुस्ता यी चुनौतीको सामना गरेर अघि बढ्छ कि जन्मोत्सव, एनिभर्सरी, कोटीहोममा नाचेर, रमाएर कम्युनिष्टको गीत गाउछन् त्यो भने हेर्न बाँकी छ ।