काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताउनु भएको छ।
पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता भएको धारणा राख्नुभएको हो।
पुष्पलालले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै पौडेलले भन्नुभयो, ‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र संकटहरू समाधान हुनसक्छन् भन्ने ठान्नु हुन्थ्यो। त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि यो महत्वपूर्ण प्रस्ताव थियो।’
राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण गरेको बताउनु भयो। उहाँले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गर्नुभएको छ।
राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्तिहरू मिलेर संघर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र वाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनर्स्थापना सम्भव भएको उल्लेख गर्नुभयो।