के पृथ्वीको जनसङ्ख्या वास्तवमै ८ अर्ब हो?



काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको एक नयाँ प्रतिवेदनका अनुसार विश्वको जनसङ्ख्या ८ अर्ब २० करोडबाट १० अर्ब ३० करोड पुग्ने अनुमान गरिएको छ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा बिहीवार सार्वजनिक भएको ‘वर्ल्ड पप्युलेशन प्रस्पेक्ट्स’ले पृथ्वीमा मान्छेको सङ्ख्या “सन् २०८० को दशकको मध्यसम्म सर्वोच्च बिन्दुमा पुगेर बिस्तारै कम हुँदै जाने” प्रक्षेपण गरेको छ।

उक्त प्रतिवेदनमा हाल जन्मिएका मानिसहरू औसतमा ७३.३ वर्षको उमेरसम्म बाँच्ने पनि प्रक्षेपण गरिएको छ। यो उमेर सन् १९९५ को भन्दा ८.४ वर्ष धेरै हो। आधा शताब्दीभन्दा बढी समयदेखि संयुक्त राष्ट्रसङ्घले सदस्य राष्ट्रहरूको राष्ट्रिय जनगणनाको तथ्याङ्क, जन्म र मृत्यु दर तथा अन्य जनसाङ्ख्यिक सर्वेक्षणका आधारमा विश्वको जनसङ्ख्याको अनुमान गर्दै आएको छ। तर, के हामीले यी सङ्ख्याहरूलाई विश्वास गर्न सक्छौँ त?

“एउटा गलत विज्ञान”

“पृथ्वीमा भएका मानिसहरूको सङ्ख्या गणना गर्नु एउटा गलत विज्ञान हो,” जनसङ्ख्यिकीका विज्ञ याकुब बियाकले बीबीसीलाई बताए।साउथ्याम्प्टन विश्वविद्यालयमा प्राध्यापक पनि रहेका जनसाङ्ख्यिकी विशेषज्ञ तथा अर्थशास्त्री बियाकका अनुसार जनसङ्ख्याको अनुमान गर्दा यसमा अनिश्चितता अवश्य हुन्छ।

“हामीसँग स्पष्ट भविष्यवाणी गर्ने ‘क्रिस्टल बल’ छैन, ‘वाशिङ्टनस्थित ‘पप्युलेशन रेफरन्सस ब्यूरो’ नामक अनुसन्धान संस्थामा जनसाङ्ख्यिक प्रक्षेपणमा विज्ञ रहेका डा. तोशिको कनेडा भन्छिन्। तर, यसको अर्थ उनीहरूले जनसङ्ख्याको अनुमान र भविष्यको प्रक्षेपण गर्ने समयमा कुनै आधारबिना सङ्ख्या निकाल्ने भने होइनन्। “यो हाम्रो अनुभव, ज्ञान र हाम्रो पहुँचमा भएका सम्पूर्ण सूचनाको आधारमा गरिने जटिल सोचाइ हो। यो एउटा गाह्रो काम हो,” डा.कनेडा भन्छिन्। जनसङ्ख्यिकीबारे काम गर्नेहरू आफ्नो प्रक्षेपणलाई नियमित रूपमा अद्यावधिक गरिरहेका हुन्छन्। उदाहरणका लागि संयुक्त राष्ट्रसङ्घले सन् २१०० सम्ममा एक दशकअघि गरेको प्रक्षेपणको तुलनामा यो वर्ष गरेको प्रक्षेपणमा संसारमा ६ प्रतिशत कम मान्छेहरू रहेको बताइएको छ।

बेलाबेलामा यसरी समायोजन गरिने भए पनि जनसङ्ख्याको तथ्याङ्क सरकार र नीतिनिर्माताहरूलाई भविष्यमाका लागि निर्णय गर्न प्रयोग हुन्छ। यस बाहेक संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले हामीलाई थप के जानकारी दिन्छ त?

विश्वको पछिल्लो अवस्था कस्तो छ?

सन् २०२४ को ‘वर्ल्ड पप्युलेशन प्रस्पेक्ट्स’ले ‘चारमध्ये एक जनाको बसोबास जनसङ्ख्याको आकार सर्वोच्च बिन्दुमा पुगिसकेको देशमा रहेको’ उल्लेख गरेको छ। तर १२६ देशहरू तथा क्षेत्रहरूमा भने आगामी तीन दशकसम्म जनसङ्ख्या वृद्धि देखिनेछ। यसमा भारत, इन्डोनेशिया, पाकिस्तान र अमेरिकाजस्ता विश्वकै धेरै जनसङ्ख्या रहेका देशहरू छन्।

यो प्रतिवेदनले देखाएको अर्को महत्त्वपूर्ण कुरा कोभिड-१९ महामारीपछि विश्वको औसत आयु बढ्दै गएको छ। विश्वभरमा अहिले जन्मिएका मानिसहरू औसतमा ७३.३ वर्षको उमेरसम्म बाँच्नेछन्, जुन सन् १९९५ को भन्दा ८.४ वर्ष धेरै हो। “मृत्युदरमा थप कमी हुनुको परिणामस्वरूप सन् २०५४ सम्म औसत आयु ७७.४ वर्ष आसपास पुग्ने अनुमान गरिएको छ, “ प्रतिवेदनमा भनिएको छ।

जनसङ्ख्या बढाइरहेको आप्रवासन

विश्वका फरकफरक ठाउँमा जनसङ्ख्या वृद्धि फरकफरक देखिन्छ। एङ्गोला, मध्यअफ्रिकी गणतन्त्र, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, नीजेर र सोमालियाजस्ता देशहरूमा आगामी ३० वर्षसम्म जन्मने मानिसकको सङ्ख्यामा अत्यधिक वृद्धि देखिनेछ। यी देशहरूको जनसङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ।

तर संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनका अनुसार विश्वका कतिपय ठाउँमा भने जनसङ्ख्या वृद्धिको प्रमुख कारण आप्रवासन बन्ने छ। जर्मनी, जापान, इटली, रुस र थाइल्यान्डसहितका १९ देशहरूमा जनसङ्ख्या उच्च बिन्दुमा पुगिसकेको छ। तथ्याङ्कले यी देशहरूमा आप्रवासनबिना जनसङ्ख्या पहिले नै उच्च हुने र तल्लो तहमा हुने देखाएको छ।

प्रतिवेदनमा आप्रवासनले “सन् २०५४ पछि जनसङ्ख्याको आकार उच्च हुने केही देशहरूको दीर्घकालीन जनसङ्ख्या वृद्धिका लागि योगदान दिने” अनुमान गरिएको छ। यी देशहरूमा अस्ट्रेलिया, क्यानडा, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र अमेरिका रहेका छन्।

हिँडिरहेका मानिसहरू

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,निकै कम देशहरूले मात्रै आप्रवासनको तथ्याङ्क राख्ने गरेका छन्

“पृथ्वीमा मानिसको पुनः वितरणको संयन्त्रका रूपमा बसाइँसराइप्रतिको ध्यान बढ्दै गएको छ”, प्राध्यापक बियाक भन्छन्। तर, “धेरै देशहरूले आप्रवासीलाई अभिलिखित गर्दैनन् वा गरे पनि १० वर्षमा एक पटक जनगणनाको समयमा गर्छन्, जसमा धेरै सीमित दायरा रहन्छ।”

प्राध्यापक बियाकका अनुसार कतिपय देशहरूले भने सर्वेक्षण र जनसङ्ख्या दर्ताको प्रयोग गरिन्छ। “तर यो युरोप र उत्तर अमेरिका अति विकसित देश, अस्ट्रेलिया र न्यूजील्यान्डजस्ता देशहरूमा धेरै कम सङ्ख्यामा मात्रै हुन्छ।”

उनका अनुसार कतिपय देशहरूले भने मोबाइल ‘लोकेटर’ अर्थात् फोन रहेको स्थानबारेको जानकारीजस्ता तथ्याङ्क सङ्कलनका वैकल्पिक उपाय पनि प्रयोग गर्ने प्रयास गरिरहेका छन् । “तर यो विधि आधिकारिक बन्नुअघि अझै परिपक्व हुन आवश्यक छ। हामीले यी तथ्याङ्कहरूलाई अझै राम्रोसँग बुझ्नपर्छ।“

डा. कनेडा जन्मदरको तुलनामा बसाइँसराइ दर धेरै छिटो परिवर्तन हुने भएकाले त्यसबारे जानकारी राख्नु फाइदाजनक हुने बताउँछिन्।“अहिले सबैभन्दा कम जन्मदर भएकै देशको कुरा गर्दा पनि त्यहाँ शून्य जन्मदर पुग्छ भन्ने मलाई लाग्दैन। जन्मदर त्यति छिटो परिवर्तन हुँदैन। तर, प्राकृतिक प्रकोप वा युद्धजस्ता कारणले बसाइँसराइ रातारात परिवर्तन हुन सक्छ।”

तर, संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या महाशाखाअन्तर्गत जनसाङ्ख्यिक विश्लेषण शाखाकी प्रमुख क्लेर मनोजी अन्तर्राष्ट्रिय बसाइँसराइलाई ठूलो समस्याको सहज समाधानका रूपमा हेर्न नहुने बताउँछिन्। उनी यसले मात्रै “दीर्घकालमा जनसङ्ख्या कमी वा जनसङ्ख्या बुढ्यौलीलाई घटाउन सक्दैन र यसलाई जनसाङ्ख्यिक परिवर्तनको विश्वव्यापी र अपरिवर्तनीय प्रक्रियाको ‘समाधान’ का रूपमा हेरिनु नहुने” बताउँछिन्।

जनगणनाको तथ्याङ्क किन महत्त्वपूर्ण छ?

नीति निर्माणमा जानकारीका लागि वा त्यसलाई निर्देश गर्न जनसङ्ख्याको गणना वा सर्वेक्षण गर्ने अभ्यासको लामो इतिहास छ। जनसाङ्ख्यिकी विज्ञहरू यसको इतिहास इसापूर्व ४,००० पहिले नै सुरु भएको बताउँछन्। त्यति बेला मेसपटेमिया (हालको इराक आसपास) को बेबिलोन साम्राज्यमा पहिलो पटक जनगणना भएको थियो।

जनगणनाको प्रविधिमा हालसम्म थुप्रै परिवर्तन भइसकेको छ। तर,जनसाङ्ख्यिकी विज्ञहरूको काम भने सजिलो भएको देखिदैन।

अमेरिकाजस्ता विकसित देशहरूका लागि पनि जनसङ्ख्यासम्बन्धी सही तथ्याङ्क सङ्कलनको काम “सरकारप्रतिको बढ्दो अविश्वास र गोपनीयतासम्बन्धी चिन्ताजस्तै चुनौतीपूर्ण रहेको” डा. कनेडा बताउँछन्।

जनगणना फारम

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,जनगणनामा मानिसको उमेर, घरपरिवार र घरबारे सोधिन्छ

तथ्याङ्क सङ्कलनमा भएको खर्च कति उचित?

डा. कनेडाका अनुसार विकसित विश्वमामा तथ्याङ्क सङ्कलन गर्ने संस्थाहरूको बजेटमा कमी आएको छ। अल्पविकसित र गरिब देशहरूमा जनसङ्ख्याको तथ्याङ्क सङ्कलनको खर्च र जटिलतामा थप चुनौतीहरू रहेका छन्।

तर संयुक्त राष्ट्रसङ्घले “तथ्याङ्क प्रणाली बलियो बनाउन खर्च भएको हरेक एक अमेरिकी डलर बराबर ३२ अमेरिकी डलरको आर्थिक लाभ सिर्जना हुने” भन्ने गरेको छ।

संयुक्त राष्ट्रसङ्घले विश्वका सबैभन्दा जोखिममा रहेका समुदायको तथ्याङ्क सङ्कलन गर्नुपर्ने बताउँछ। उदाहरणका लागि (१५ देखि १९ उमेर समूहका) किशोरी आमाहरूबाट सन्तान जन्मिनु सामान्य रहेको ठाउँमा उनीहरूबारेको तथ्याङ्क सबैभन्दा कम गुणस्तरको हुन्छ।

पछिल्लो ‘वर्ल्ड पप्युलेशन प्रस्पेक्ट्स’ प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या अनुमान र प्रक्षेपणको २८औँ आधिकारिक संस्करण हो। यो प्रतिवेदन सन् १९५० देखि सन् २०२३ सम्म गरिएका १,७०० भन्दा धेरै राष्ट्रिय जनगणनाको तथ्याङ्कका साथै महत्त्वपूर्ण दर्ता प्रणालीबाट प्राप्त जानकारी र २,८९० राष्ट्रिय प्रतिनिधिहरूबाट गरिएको नमुना सर्वेक्षणबाट तयार पारिएको हो।