कांग्रेस-एमालेबीच समझदारी: सत्तादेखि संविधान संशोधनसम्म



काठमाडौँ। कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।

सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन्। संविधानको धारा ७६।२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन्।

ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो। खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका छन्।

छलफलमा सहभागी एक नेताकाअनुसार सहमतिको प्रारम्भिक खाकाअनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३/३ वटा सरकार बाँडेका छन्। मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुनसक्ने उनीहरुको समझदारी छ।

उनीहरुले संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार गरेका छन्, जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभामा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी छ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भाबनाबारे समेत छलफल भएको छ। पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ। संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने उनीहरुले तयारी गरेका छन्।

प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे उनीहरुबीच छलफल भएको छ। देउवा र ओलीले हस्ताक्षर गरेर सहमतिलाई पूर्णता दिने तयारी छ।