सहकारी छानबिन विशेष समितिले काम थाल्यो



काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न बनेको संसदीय विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ।

बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको समितिको पहिलो बैठकले दुई दिनभित्र समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरेको हो।

कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेको पनि उपस्थिति थियो।

बैठकमा घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, दलहरू बीच भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावली सहितको दस्तावेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गरेका थिए।

संसदीय विशेष समितिको पहिलो बैठकमा सभामुख उपस्थित हुने चलन छ। बैठकपछि सभापति थापाले तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘दुई दिनभित्र कार्यविधि मस्यौदा तयार हुनेछ। त्यसलाई छलफल गरेर अर्को बैठकले टुङ्गोमा पुर्‍याउने आजको बैठकले निर्णय गरेको छ।’

समिति सदस्य ईश्वरीदेवी न्यौपानेले तीन महिनाभित्रै काम सम्पन्न गर्नका लागि रात दिन नभनी काम गरिने प्रतिबद्धता सबैबाट आएको बताइन्। समितिको समयावधि पहिलो बैठक बसेको मितिले तीन महिना तोकिएको छ । समितिको अर्को बैठक शुक्रबार बस्नेछ ।