काठमाडौँ। आफ्नो दल सरकारमा भए पनि एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलको वैकल्पिक गठबन्धन बनाउने बैठकमा बिहीबार सहभागी भए।
यता सत्ता समीकरणमा, उता विपक्षी खेमाको बैठकमा सहभागी हुनुले नेपाल ठूलै छटपटीमा देखिन्छन्। अध्यक्ष नेपाल गुनासाको पोको लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पटक–पटक गइसके। एसले नेतृत्व गरेको सुदूरपश्चिम सरकारलाई पूर्णता दिन नसघाएको, कर्णाली र कोशीमा एमालेको नेतृत्वमा आफ्नो दललाई सहभागी नगराएको, राजनीतिक नियुक्तिमा बेवास्ता गरेको, सरकारका महत्त्वपूर्ण निर्णय लिँदा आफूसँग परामर्श नगरेको लगायत उनका गुनासा हुने गरेका छन्।
प्रधानमन्त्री दाहालले भेटमा जहिलै सकारात्मक जवाफ दिए पनि गुनासो सम्बोधनमा ध्यान नदिएको एसका एक पदाधिकारीको भनाइ छ। प्राय: आफ्ना गुनासो सम्बोधन नभएपछि नेपालको छटपटी सुरु हुन्छ । त्यसपछि उनी सार्वजनिक रूपमा दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्न थाल्छन् । यी दुई नेतालाई लक्षित गतिविधि गर्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा गंगा विसीले लेखेका छन्।