भीआईपी सुरक्षामा अझै १ हजार २४७ प्रहरी



काठमाडौं। गृह प्रशासनले बहालवाला विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीको सुरक्षार्थ खटिने अतिरिक्त सुरक्षाकर्मीको संख्या घटाइरहेको बताए पनि तथ्यांकमा बढिरहेको देखिएको छ।

महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट १ हजार २४७ सुरक्षाकर्मी खटाइएको पाइएको छ। आर्थिक वर्ष ०७८/७९ मा बहालवाला तथा पूर्वविशिष्ट व्यक्ति तथा पदाधिकारीलाई ९०३ सुरक्षाकर्मी खटाइएको प्रतिवेदनमा उल्लेख छ।

विशिष्ट व्यक्तिको सुरक्षा जोखिमका आधारमा कानूनी व्यवस्था गरेर मात्र सुरक्षाकर्मी उपलब्ध गराउनुपर्नेमा त्यसो नभएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनमा प्रश्न उठाइएको छ। राजनीतिक नेतृत्व र अवकाशप्राप्त उच्च अधिकृतहरूको घरमा सुरक्षाकर्मीलाई खटाएर दुरुपयोग गरिएको भन्दै आलोचना हुने गरेको छ।

विगतमा रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठदेखि हालका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पालामा सम्म भीआईपी सुरक्षामा खटिएका अतिरिक्त सुरक्षाकर्मीलाई फिर्ता बोलाउने अभियान चलाइएको छ ।

तर त्यसरी सुुरक्षाकर्मीलाई फिर्ता तानिएको केही समयमै उनीहरू फेरि त्यहीँ खटाइने गरेका छन् । सरकारले २०७७ मा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि ल्याएको थियो। त्यसअनुसार कार्यान्वयन गर्ने भन्दै सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्रीहरूदेखि पूर्वउच्च सुरक्षा अधिकृतहरू सम्मको सुरक्षाकर्मी घटाएको थियो।