काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ।
बिहीबार बसेको सो पार्टीको ८२औँ सचिवालय बैठकले संसद्को गतिरोध अन्त्यका निम्ति पहल कदमी लिने निर्णय गरेको हो। त्यसका लागि प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्रीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
त्यस्तै बैठकले दसौँ महाधिवेशनमा पेशहुने पार्टीका दस्तावेज जेठ १५ गते ७७ वटै जिल्लामा पठाउने निर्णय पनि गरेको छ। एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म काठमाडौँमा गर्ने यसअघि नै निर्णय गरिसकेको छ।
यसैबिच महाधिवेशन तयारी समिति सचिवालयको प्रथम बैठक पनि बिहीबार नै बसेको छ। बैठकले खाद्य,आवास प्रचारलगायत व्यवस्थापनका पक्षमा योजना निर्माणबारे छलफल गरेको छ। सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने सो पार्टीले जनाएको छ।