पुगेन उच्च हिमाली र अति विकट क्षेत्रका विद्यालयमा किताब



बाँके। कर्णालीको हिमाली जिल्ला हुम्लास्थित नाम्खा गाउँपालिकाका नारा र न्यालु लेखमा हिउँ नबिलाउँदा तिल, हल्दी र जाङलगायतका स्थानमा पुग्न असहजता छ।

पाँच हजार एक सय ७० मिटर उचाइमा रहेका यी लेखले स्थानीयको आवातजावत मात्र होइन, नयाँ शैक्षिक सत्रका लागि पुगेका पाठ्यपुस्तकसमेत ढुवानीमा अवरोध पुर्‍याएको छ। जसका कारण चीनसँग सीमावर्ती नाम्खा गाउँपालिकाका सबै विद्यालयमा यस वर्ष पाठ्यपुस्तक पुग्न सकेका छैनन्।

शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका अनुसार नाम्खा गाउँपालिकाका १७ विद्यालयमध्ये तीनवटा विद्यालयमा मात्र पाठ्यपुस्तक पुगेका छन्। अन्यमा पुग्न अझै केही दिन लाग्छ।

यता डोल्पाको उच्च हिमाली क्षेत्रमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन। अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगे पनि भौगोलिक विकटता भएका विद्यालयमा पाठ्यपुस्तक समयमै पुग्न नसकेको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख दलबहादुर बस्नेतलले जानकारी दिए।

सुदूरपश्चिमको अछामको अवस्था पनि उस्तै छ। पालिकाको पहुँचमा किताब पुगे सकेको अवस्था भए पनि भर्ना भएका सबै विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। यी जिल्लामा मात्र होइन पश्चिमका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली र अति विकट क्षेत्रका विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक पुगेका छैनन्।

पुस्तक ढुवानीका लागि पालिकाहरूले समयमै रकम विद्यालयमा पठाए पनि भौगोलिक विकटताका कारण पश्चिमका उच्च हिमाली र अति विकट क्षेत्रमा पाठ्यपुस्तक पुग्न नसकेका हुन्।

कर्णालीको हिमाली जिल्ला हुम्लास्थित नाम्खा गाउँपालिकाका नारा र न्यालु लेखमा हिउँ नबिलाउँदा तिल, हल्दी र जाङका विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। हिउँ नपग्लिएर त्यस क्षेत्रमा जाने बाटो अवरुद्ध भएपछि पाठ्यपुस्तक पुर्‍याउन मुस्किल भएको शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका प्रमुख भीमराज कार्कीले जानकारी दिए।

‘हुम्लाका नाम्खाबाहेक सबै पालिकामा पाठ्यपुस्तक पुगेका छन्,’ उनले भने, ‘समयमै पाठ्यपुस्तक पुर्‍याउन नसक्नुको कारण नै भौगोलिक विकटता हो।’ नेपालगन्जबाट करिब पाँच दिनमा पैदलमार्गबाट हुम्लामा किताब पुग्ने भन्दै उनले भने, ‘हुम्ला पुगेपछि पनि यहाँका पालिका र पालिकाबाट विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन कठिन छ।’

यो समाचार नागरिक दैनिकमा छ।