काठमाडौँ। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले ।
कुशल भुर्तेलले ५९ रन बनाए । सन्दीप जोराले पनि टोलीका लागि ५६ रनको योगदान गरे । अर्का ओपनर विनोद भण्डारीले २७ रन बनाएका थिए । कुशल भुर्तेल र विनोद भण्डारीले ओपनिङ विकेटका लागि ६४ रनको साझेदारी गरे ।
गुलसन झाले टोलीको खातामा अविजित १५ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले १२ बलको सामना गरी एक छक्का पनि हिर्काए । लोकेश बमले १४ रन बटुले । विवेक यादबले पनि अविजित १९ रन बनाए । उनले केवल चार बलको सामना गरी तीन छक्का पनि हिर्काए ।
कप्तान रोहित पौडेल एक रनमा पेभेलियन फर्किए । आरिफ शेख पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । नेपालले अतिरिक्त रुपमा तीन रन पायो । पीएनजीका बलर असाद भालाले दुई विकेट लिए । नोसाइना पोकाना, जोन कारिको र नरम्यान भानुआले एक–एक विकेट हात पारे ।
नेपालले आफ्नो पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान विनोद भण्डारीलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान विनोद २७ रन बनाउँदै आउट भएका थिए । उनले २२ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।
विनोदलाई पीएनजीका बलर कारिकोले नरम्यान भानुआद्वारा क्याच गराएका थिए । त्यसअघि विनोदले अर्का ओपनर कुशल भुर्तेलसँग ६४ रनको साझेदारी गरेका थिए । विनोद ७.३ ओभरमा आउट भएर पेभेलियन फर्किएका थिए ।
नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी चार बलमा एक रन बनाउँदै आउट भएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहितलाई पीएनजीका बलर पोकानाले विकेटकिपर किपलिन दोरिगाद्वारा क्याच गराएका थिए । ८.१ ओभरमा रोहित आउट हुँदा नेपालले ६५ रन बनाएको थियो ।
नेपालले तेस्रो विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । उनी सात बलमा एक चौकाको मद्दतले चार रन बनाउँदै आउट भएका थिए । उनलाई पनि पीएनजीका बलर भालाले विकेटकिपर दोरिगाद्वारा नै क्याच गराएका थिए । ९.३ ओभरमा आरिफ शेख आउट हुँदा नेपालले ७० रन बनाएको थियो ।
नेपालले चौथो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ५९ रन बनाएर आउट भएका थिए । उनले केवल ३९ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काएका थिए ।
२७ वर्षीय कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा बनाएको यो आठौँ अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन् । कुशललाई पीएनजीका बलर नरम्यान भानुआले कारिकोद्वारा क्याच गराएका थिए । १४.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले एक सय २० रन बनाएको थियो ।
नेपालले पाँचौँ विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले अर्धशतक बनाएका थिए । उनले ५६ रन बनाएका थिए । सन्दीपले केवल २६ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काएका थिए ।
२२ वर्षीय सन्दीप जोराले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो अर्धशतक हो । सन्दीपलाई पीएनजीका बलर भालाले लेगा सियाकाद्वारा क्याच गराएका थिए । १७.५ ओभरमा सन्दीप आउट हुँदा नेपालले एक सय ६० रन बनाएको थियो ।
नेपालले छैटौँ विकेटका रुपमा लोकेश बमलाई गुमाएको थियो । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनी १४ रन बनाउँदै रन आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ६ बलमा दुई छक्का पनि हिर्काएका थिए । १९औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय ७७ रन बनाएको थियो ।
यसअघि आइतबार नेपाल र हङकङबिचको पहिलो खेल वर्षाका कारण अनिर्णीत रुपमा सकिएको थियो । मंगलबार नै हङकङ र पपुवा न्यु गिनीबिच दोस्रो खेल हुनेछ । हङकङ भ्रमणका क्रममा नेपालले गत शनिबार आयोजक राष्ट्रसँग एउटा टी–२० मैत्रीपूर्ण खेल पनि खेलेको थियो । उक्त खेलमा हङ्कङले नेपाललाई ७३ रनले हराएको थियो ।
नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको तयारीका क्रममा विभिन्न राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । यसैक्रममा नेपाली टोली हङकङ भ्रमणमा गएको हो ।
हङकङ भ्रमणबाट फर्किएलगत्तै नेपाली टोली मैत्रीपूर्ण खेलका लागि भारत प्रस्थान गर्नेछ । भारतमा नेपालले गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यो खेलमा पनि विश्वकपकै तयारीका क्रममा खेल्न लागिएको हो ।
टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म आयोजना हुँदैछ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
टी–२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल जुन १६ तारिखमा बंगलादेशसँग खेल्नेछ ।