काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर गएका छन्।
बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा प्रचण्ड बालुवाटारबाट एक्लै निस्केका हुन्। स्रोतका अनुसार प्रचण्ड अध्यक्ष नेपाललाई नयाँ गठबन्धनमा सामेल गर्ने योजनाअनुसार कोटेश्वरतर्फ लागेका हुन्। बालुवाटार स्रोतकाअनुसार प्रचण्ड एकैछिन बिरामी भेटेर आउँछु भनेर निस्केका हुन्।
मन्त्रीहरुको शपथ ग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत छन्।
प्रचण्ड माधव नेपाललाई पनि नयाँ गठबन्धनमा सामेल गराउन चाहन्छन्। यसअघि प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेपाल नयाँ समीकरण बन्दा आफूहरूलाई थाहा नदिएको भन्दै बेखुस छन्। एमाले माओवादी नयाँ गठबन्धन वामपन्थी एकताको प्रयाससमेत भनिएकाले अध्यक्ष नेपाललाई पनि सँगै लैजानुपर्ने मत छ।