काठमाडौँ। सभामुख देवराज घिमिरेले सशस्त्र क्रान्तिबाट आएको दल सरकारमा हुँदा पनि पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण नहुनु दुःखद भएको टिप्पणी गरेका छन्।
सोमबार थापागाउँमा आयोजित शहीद यदुकुमार गौतमको २५औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले उक्त टिप्पणी गरेका हुन्। उनले वृहत शान्ति स्थापनाको करिव १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म न्याय निरूपण गर्ने काम नहुनु दुःखद् भएको बताए।
गौतम स्मृति प्रतिष्ठानकी अध्यक्ष सुजाता गौतमको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथिसमेत रहेको सभामुख घिमिरेले उनले भने, ‘हामीले बितेका दिनहरुमा धेरै प्रतिकुलताहरुलाई व्यहोरेर निरंकुश राजतन्त्र अन्त्य गर्न सफल भएका छौं। १२ वर्षभन्दा लामो जनयुद्धको नाममा भएका घटनाहरु पनि शान्तिमा रुपान्तरित भइरहेका छन्। सशस्त्र क्रान्तिको कार्यक्रम लिएर आएकाहरु, शक्ति, नेताहरु आज शासन गर्ने ठाउँमा पुग्नुभएको छ। तथापि देशमा हिजोको द्वन्द्वलाई अन्त्य गरी स्थायी शान्ती कायम गर्ने बाटोमा केही बाधाहरु रहेका छन्।’
शान्ति प्रक्रिया टुंग्याउन २०६३ सालमै शान्तिको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप वातावरण बनाउन कानून बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटनाहरु सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भएकाले पीडितको पक्षमा कानून बन्नुपर्ने बताए।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य बहादुर थापा संयोजक रहेको पुरस्कार समितिले रूकुमकी पत्रकार टिका बिष्टलाई यो वर्षको पुरस्कारबाट सम्मान गरिएको छ।
कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य सिता पौडेल, केन्द्रीय सदस्य मेनुका पोखरेल, कर्णाली सम्पर्क कमिटीका अध्यक्ष भक्त बहादुर रावतलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।