काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको ब्रिफिङ गरेका हुन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सचिव देवेन्द्र पौडेलले नेपालमा फेरि अर्को पटक वामपन्थीहरूको एकताको प्रसङ्ग उब्जिएको बताए। ‘आजै एकताको कुरा त होइन। तर, फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ उनले भने। सो कुरा बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको उल्लेख गर्दै पौडेलले अब राजनीतिक कोर्स नयाँ शिराबाट अघि बढ्ने भएको बताए।
यस्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको कुरा आजै टुङ्ग्याउने कुरा बैठकमा गरेको पनि बताए। योसँगै बजेट, नीति तथा कार्यक्रम र शान्ति प्रक्रियाका बाँकी विषय टुङ्ग्याएर राजनीति कोर्स करेक्सन गर्ने गरी बैठकबाट निर्णय लिएको उनले बताए। आजै सानो सङ्ख्यामा मन्त्रिपरिषद् पुनर्गठन हुने उनको भनाइ छ। कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमालेसँगको सहकार्य गर्ने सहमति गरेको छ। नयाँ समीकरणअनुसार जसपा, रास्वपालगायतका दल पनि सत्तापक्षमा हुने बताइएको छ।